धनगढीमा ‘ग्यास विस्फोट’ हुँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु
2020/10/15, 8:00
 
bisfot

धनगढीमा लिक भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ।  बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बिर्माको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको जानकारी दिए। प्रहरीका अनुसार घाइते अवस्थामा रहेका मृतकका श्रीमान हरीलाल विष्ट र उनकी नातिनिको अवस्था भने खतरामुक्त छ।

उनीहरुको पनि काठमाडौँमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक विष्टले बताए। बुधबार बिहान हरीलालले बजारबाट सिलिण्डर ल्याएर रेगुलेटर लगाउने क्रममा ग्यास लिक भएको जनाउँदै प्रहरी नायब उपरिक्षक विष्टले सोही बेला ग्यास बाल्दा भान्छामा जम्मा भएको ग्यास विस्फोट भएको बताए।

पर्याप्त हावा नभएको कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा एक्कासी विस्फोट भएर भान्छा कोठाको छत उडाएको र भित्ता समेत भत्काएको उनले बताए। 

यसअघि प्रहरीले लिक भएका बेला ग्यास बाल्दा सिलिण्डर पड्किएको बताएको थियो। तर पछि सिलिण्डर क्षती नभएको देखिएकाले कोठाभरी जम्मा भएको ग्यास नै विस्फोट भएको दावी प्रहरीले गरेको छ।

यद्यपी घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।