मजदुरी गरेर हुर्काएको छोरो तस्करले मारेपछि उजाडियो आमा कलावतीको सपना
2020/10/19, 10:21
 
murder

गोविन्द बिक नौ वर्षका थिए । उनका बुवा बिते । आमा कलावती बिकले तीन छोरा र एक छोरीलाई मजदुरी गरेर हुकाईन । तीन दाजुभाईमा उनी माहिला थिए । उनीभन्दा अगाडि एक दिदी र दाई थिए । पछाडि दुई भाई । सुकुम्बासी परिवार । सहारा केही थिएन । बुवा बितेपछि परिवारको पालनपोषणको अभिभारा आमा कलावतीको काँधमा आयो । खेतीका लागि जमीन थिएन ।

सम्पत्तीका नाममा एउटा ओत लाग्ने झुपडी थियो । त्यही झुपडीमा उनी हुर्किए । आमा कलावतीले अर्काको खेतमा काम गरिन । दाउरा बेचिन । मजदुरी गरिन । आफ्ना सन्तानलाई हुर्काउन उनले निकै हण्डर खाईन । अभाव झेलिन । पीडा भोगिन । तर पनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना थियो । दाईभाईले धेरै पढ्न रुचि देखाएनन । दाई खेती किसानमा जुटे । कान्छो भाईले पनि एसएलएसी दिएपछि पढाई छोडे । दिदीको बिहा भयो । तर गोविन्दले पढाई छोडेनन ।

पुनर्वासको क गाउँमा रहेको बागेश्वरीमा माविबाट एसएलसी पास गरे । र थप पढाईका लागि उनकी आमा कलावतीले कैलाली बहुमुखी क्याम्पस भर्ना गरिन । धनगढी डेरा गरेर पढाउन सक्ने आर्थिक हैसियत थिएन । तर पनि छोरालाई पढाएर ठूलो बनाउने सपना पुरा गर्न उनले रातदिन मजदुरी गरिन । तीन वर्षअघि आमा कलावतीको सपना पुरा भयो ।

गोविन्दले नेपाल प्रहरीमा प्रहरी सहायक निरिक्षकमा नाम निकाले । त्यो दिन कलावतीका लागि मात्र नभएर उनको समुदायकै लागि ठूलो खुशीको दिन थियो । दलित समुदायबाट असई हुने गोविन्द पहिलो युवा थिए । पढेर के हुन्छ र भनेर बीचमै पढाई छोड्ने दलित समुदायका विद्यार्थीहरुका लागि त उनी प्रेरणाको स्रोत नै थिए । किनकी उनी आफ्नै बलबुता, अध्ययन र मिहिनेतले असई भएका थिए । उनको न पहूँच थियो । न त उनी कुनै राजनैतिक दलका कार्यकर्ता थिए । आमा कलावतीको छोरा ठूलो भएको हेर्ने सपना भने धेरै समय टिकेन ।

भदौ पहिलो साता धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित प्रहरी चौकीको ईञ्चार्जको जिम्मेवारी सम्हालेका गोविन्द कार्तिक १ गते राति गस्तीको क्रममा निस्किएका बेला तस्करहरुको एम्बुसमा परे । उनको बिभत्स ढंगले तस्करहरुले हत्या गरे ।  यो घट्ना गोविन्द बिकको मात्र हत्या थिएन । आमा कलावतीको एउटा सपनाको पनि हत्या थियो । र उनीसंगै आश्रित श्रीमती, सात र तीन वर्षीया छोरी, दाई, भाउजु, उनीहरुका तीन सन्तान, भाई र बुहारी समेत गरी परिवारका ११ जना सदस्यको आशा र भरोसाको पनि हत्या थियो । गोविन्द राति गस्तीबाट हराएको खवर सुनेपछि अत्तालिएका उनकी आमा र श्रीमती उनको लाश भेटिएयता होसमा छैनन । परिवारका सदस्यहरु आफै विक्षिप्त झै छन् ।

आमा र उनकी श्रीमतीलाई कसरी सम्हाल्ने ? गोविन्दका मामा भरमल सुनाउदै थिए, हाम्रो त सपना र आशा भरोसा उही भाञ्जा थियो । उही तस्करहरुको निशानामा प¥यो । परिवारका सदस्यहरुलाई त यो खवरमाथि नै विश्वास लागिरहेको छैन । यो खवर झुटा भईदियो हुन्थ्यो, मामा सुनाउदै थिए, नाबालक भाञ्जालाई मजदुरी गरेर हुर्काएकी दिदी र बुहारीलाई कसरी सम्झाउनु ? भाञ्जा गोविन्द सिंगो दलित समुदायको एक्लो असई थियो । उसैलाई तस्करले मारिदिए । गोविन्दले धनगढीमा डेरा लिई छोराछोरीलाई पढाईरहेका थिए ।  उनको हत्यापछि उनका छोराछोरी र श्रीमतीको त बिचल्ली भएको छ नै, उनको पुरै परिवार नै आर्थिक संकटसंगै नमेट्नि पीडा भोग्न बाध्य भएको छ ।