धनगढीमा वर्षकै उच्च गर्मी, अनियमित विद्युतले थप समस्या
2020/05/25, 4:26
 
dhangadhi sub

धनगढीमा आज यो वर्षकै बढी गर्मी भएको छ । जल  तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार आज धनगढीमा यो बर्षकै बढी गर्मी रेकर्ड गरिएको हो । धनगढीमा अधिकतम तापक्रम ४० दशमलव ५  डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यसअघि आईतबार धनगढीको अधिकतम तापक्रम ४० दशमलव १ डिग्री सेल्सियस मापन गरिएको कार्यालयका मौसम अबजर ब्रिजलाल चौधरीले बताए । पछिल्लो केही दिनयता धनगढीमा गर्मी बढ्दै गएको छ । गर्मी बढ्दै जान थालेपछि यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । 

यता पछिल्ला केही दिनमा गर्मी वढ्न थालेपछि धनगढी आसपास क्षेत्रमा विद्युतको मनपरी वढ्न थालेको छ । गर्मीको मार नगरवासीहरुले झेली रहेका वेला अघोषित लोडसेडिङ सुरु भएको छ । उप–महानगरपालिका सहित आसपासका क्षेत्रमा विद्युत आउने जाने गरेका कारण नगरवासी हैरान भएका छन् । गर्मी बढेसंगै अनियमित विद्युत कटौती हुन थालेपछि दैनिकी कष्टकर बनेको हसनपुरका दिपु थापाले बताए । 

विद्युत कटौती भए वैकल्पिक उपकरणको समेत विक्री हुने हुदाँ व्यापारी सँगको मिलेमतोमा अघोषित लोडसेडिङ गर्ने गरेको आरोप विद्युत कर्मचारीहरुलाई लाग्ने गरेको छ । सामान्य विद्युतको तार चुडिएको भएपनि विद्युत प्राधिकरणले मर्मतमा लापरवाही गर्दा समस्या खेप्नु परेको गुनासो नगरवासीको छ । शहरी क्षेत्रमा विद्युतीय उपकरणको बढ्दो प्रयोग भएका बेला हुने लोडसेडिङले जनजीवन असहज बनेको छ । 

विद्युतका कारण समस्या हुन थालेपछि नगरवासीहरुले नो लाईट सेवाको फोनमा फोन गर्ने गरेका छन् । तर नोलाईट सेवाको ०९१४१७१४५ नम्बरको फोन सधैं होल्डमा राखिदा कहिल्यै नउठ्ने गरेको धनगढी मनेहराका शिवराम चौधरीले बताए । शनिवार दिनभरी विद्युत नभएपछि साँझदेखि लगातार फोन गर्दा एक पटक पनि नलागेको उनले बताए । विजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षती पुग्ने गरेको छ ।

धनगढी वितरण केन्द्रले विभिन्न वाहाना बनाएर विद्युत कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरुले समस्या झेल्नु परेको छ भने विद्युत नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्कील परिरहेको छ । झण्डै ५७ हजार भन्दा बढी सेवाग्राही भएको धनगढी वितरण केन्द्रमा यो समस्या बढी देखिएको छ । तर केन्द्रले लोड बढेका कारण विद्युत लाईनमा समस्या आईरहेको बताउँदै आएका छन् । 

त्यस्तै विद्युत प्राधिकरणका कार्यालयका प्रमुख सुरेन्द्र चौधरीलाई खबरकुञ्ज टीमले लगातार दुई पटक फोन गर्दा उनको फोन उठेको छैन् । शनिवार ३ बजेदेखि आईतबार २ बजेसम्म पटक पटक फोन गर्दा उनले प्रयोग गर्दै आएको ९८५८४२२४५६ नम्बरको मोबाईल एक पटक पनि उठेन् । उनले कुनै बेला फोन नै नउठाउने, कुनै बेला फोन काट्ने र कुनै बेला स्वीच अप गर्ने गरिरहेका छन् । उनको कार्यकक्षको ०९१४१७४५६ मा पनि पटक पटक फोन गर्दा फोन उठेन् ।