धनगढीमा संक्रमितको शव गाडिएपछिको विवादः कब्रिस्तानको तालाबन्दी जारी, मुस्लिम परिवारको दाहसंस्करमा समस्या !
2020/10/30, 2:29
 
death

धनगढीमा संक्रमितको शव गाडिएपछिको विवाद अझै समाधान हुन सकेको छैन् । धनगढीकी कोरोना संक्रमित महिलालाई कब्रिस्तानमा गाडिएपछिको विवाद समाधान हुन नसकेको हो । स्थानीय वासिन्दाहरुले कब्रिस्तानको गेटमा लगाएको ताला अझै खुलेको छैन् । कार्तिक १३ गते विहान कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको शव सोही कब्रिस्तानमा व्यवस्थापन गरिएको थियो ।

मानव वस्तीसंगै जोडिएको कब्रिस्तानमा संक्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध गर्दै कब्रिस्तानमै तालाबन्दी गरेका थिए । तर स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले तालाबन्दी खुलाउन नसकेपछि मुस्लिम समुदायका अन्य परिवारहरुलाई पनि शव व्यवस्थापनमा समस्या भएको छ ।

आज दुबै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको शव गाड्न नपाएको सो परिवारको गुनासो रहेको छ । मुस्लिम संस्कार अनुसार कब्रिस्तानमै शव गाड्नुुपर्ने भएपनि कब्रस्तानमा विहीवार भएको घटनाले तालाबन्दी गरिएपछि आफ्ना बुबा अन्तिम संस्कार गर्न नपाएको मृतकका छोरा सद्दाम जमसेदले बताए । उनले शवलाई आफ्नै घरमै राखेको जानकारी दिए । 

मुस्लिम समुदायमा मृतकहरुको अन्तिम संस्कार तथा शव व्यवस्थापन कब्रिस्तानमै गर्नुपर्ने धार्मिक मान्यता रहि आएको छ । उनीहरु कब्रिस्तानमै अन्तिम संस्कार गर्न पाउनुपर्ने भन्दै स्थानीय प्रशासन संग माग गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कब्रिस्तानमा गरिएको तालाबन्दी र अर्को शव व्यवस्थापनको विषयमा मुस्लिम समुदाय र तालाबन्दी गर्ने पक्षबीच छलफल गरिरहेको जानकारी दिए ।