धनगढीमा थुनामा मृत्यु प्रकरणः युवकले आत्महत्या गरेको छानविन समितिको ठहर
2020/10/30, 2:42
 
death

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा मृत्यु भएका युवकले आत्महत्या गरेको छानविन समितिले ठहर गरेको छ । गत भदौँ २६ गते जिल्ला प्रहरी कार्यालयको थुनामा धनगढीका १९ वर्षीय युवक रोशन बिकको मृत्यु अन्य कारण नभएर आत्महत्या नै भएको छानविन समितिले प्रतिवेदन मार्फत निष्कर्ष निकालेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

छानविन समितिले बुझाएको प्रतिवेदनमा बिकले आत्महत्या गरेको निष्कर्ष निकालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले बताए । प्रहरी वरिष्ठ उपरीक्षक सिहका अनुसार शव परीक्षण रिर्पोटमा समेत आत्महत्या नै गरेको देखिएको छ । 

चोरी आरोपमा पक्राउ परेका बिक थुनुवा कक्षभित्रै रहेको सौचालयमा आफ्नै सर्टले झुण्डिएको अवस्थामा भेटिएपछि तत्कालै सेती प्रादेशिक अस्पताल पुगाईए पनि बचाउन नसकिएको कैलाली प्रहरीले बताउँदै आएको थियो । सो घटनाको छानविनका लागि सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजिव बस्नेतको नेतृत्वमा समिति गठन गरिएको थियो । पीडित पक्षले भने बिकले आत्महत्या नभई हत्या गरेको आरोप लगाएका थिए ।