धनगढीमा संक्रमित महिलाको शव गाडिएपछिको विवादः मुस्लिम समुदायलाई कब्रिस्तानमा शव गाड्न प्रतिबन्ध
2020/10/30, 5:24
 
death

धनगढी उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले कब्रिस्तानमा मुस्लिम समुदायलाई शव गाड्नबाट रोक लगाएको छ । उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष सन्तोष मुडभरीले मुस्लिम समुदायलाई पत्रचार गर्दै शव व्यवस्थापन गर्नबाट रोक लगाएको जानकारी दिईएको हो । धनगढी उपमहानगरपालिका–२ की ५९ वर्षीया महिलाको कार्तिक १३ गते कोरोना संक्रमणका कारण सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको थियो ।

उनको शव कब्रिस्तानमा व्यवस्थापन गरिएपछि विवाद उत्पन्न भएको थियो । संक्रमितको शव कब्रिस्तानमा गाडिएपछि स्थानीयले मानववस्तीसंगै जोडिएको कब्रिस्तानमा शव व्यवस्थापन गर्न नहुने भन्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले कब्रिस्तानको गेटमा तालाबन्दी समेत गरेका छन् । वषौंदेखि सोही कब्रिस्तानमा मरेका मान्छेहरुलाई सदगति गर्दै आएका स्थानीय मुस्लिम समुदायलाई भने धार्मिक परम्परा अनुसारको कार्य गर्नबाट वञ्चित गरिएको वडा कार्यालयलाई आरोप लागेको छ ।

‘सो स्थानमा अर्को व्यवस्था नभएसम्मको लागि कुनै पनि किसिमको लासको व्यवस्थापन कब्रस्थानमा नगर्ने भनी सम्बन्धित टोलको संघर्ष समितिबाट मुचुल्का लेखी आएकोले सो अनुसार उक्त स्थानमा अर्को व्यवस्था नभएसम्मको लागि कुनै पनि किसिमको लासको व्यवस्थापन नगर्न, नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।’ वडा कार्यालयले पठाएको पत्रमा भनिएको छ ।

4

‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तीहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि (दोस्रो संशोधन) २०७७’ को दोस्रो बुँदामा ‘कोभिड १९ को कारण मृत्यु भएको शवको परम्परागत चली आएको अन्त्येष्टि गर्ने स्थानमा नै विशेष सावधानी अफ्नाई अन्त्येष्टि गर्नु पर्दछ । मृतकको धर्म परम्परा अनुसार शवको सम्मान गर्दै निजको आफन्तलाई समेत सुरक्षित राख्नु पर्दछ ।’ भन्ने उल्लेख छ । तर त्यो कुरालाई वेवास्ता गर्दै धनगढी उपमहानगरपालिका १ नम्बर वडा कार्यालयलाई मुस्लिम समुदायलाई कब्रिस्तानमा शव व्यवस्थापन गर्नबाट वञ्चित गरेको आरोप समेत लागेको छ ।

उनीहरुले कब्रिस्तानको गेटमा तालाबन्दी समेत गरेका छन् । स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले तालाबन्दी खुलाउन नसकेपछि मुस्लिम समुदायका अन्य परिवारहरुलाई पनि शव व्यवस्थापनमा समस्या भएको छ । आज दुबै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको शव गाड्न नपाएको सो परिवारको गुनासो रहेको छ । मुस्लिम संस्कार अनुसार कब्रिस्तानमै शव गाड्नुुपर्ने भएपनि कब्रस्तानमा विहीवार भएको घटनाले तालाबन्दी गरिएपछि आफ्ना बुबा अन्तिम संस्कार गर्न नपाएको मृतकका छोरा सद्दाम जमसेदले बताए । उनले शवलाई आफ्नै घरमै राखेको जानकारी दिए । 

मुस्लिम समुदायमा मृतकहरुको अन्तिम संस्कार तथा शव व्यवस्थापन कब्रिस्तानमै गर्नुपर्ने धार्मिक मान्यता रहि आएको छ । उनीहरु कब्रिस्तानमै अन्तिम संस्कार गर्न पाउनुपर्ने भन्दै स्थानीय प्रशासन संग माग गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कब्रिस्तानमा गरिएको तालाबन्दी र अर्को शव व्यवस्थापनको विषयमा मुस्लिम समुदाय र तालाबन्दी गर्ने पक्षबीच छलफल गरिरहेको जानकारी दिए ।