धनगढी वडा नम्वर- १ मा रहेको कब्रिस्तान क्षेत्र सिल
2020/10/30, 5:32
 
corona

धनगढी वडा नम्वर- १ मा रहेको कब्रिस्तान क्षेत्र सिल गरिएको छ ।  कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको भन्दै नम्बर -१ मा रहेको कब्रिस्तान सिल गरिएको हो । धनगढी उपमहानगरपालीका प्रवक्ता तथा वडा नम्बर-१ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा सो क्षेत्र सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बिच छलफल गर्दा पनि कुनै निष्कर्ष नआएपछि अर्को निर्णय नभएसम्मका लागी कब्रिस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता मुडभरिले बताए । धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ बर्सिया महिलाको सेती प्रादेशिक अस्पतालमै बिहीबार विहान मृत्यु भएको थियो ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रिस्तानमा गाडेका थिए । मानववस्ती सँगै रहेको कब्रिस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रिस्थानको गेटमा ताला लगाएका छन् । उनीहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरिरहेका छन् ।