घरमै बसेर धनगढीकी ८८ वर्षीया वृद्धाले जितिन् कोरोना
2020/11/01, 8:50
 
corona

कोरोना भाइरस (कोभिड-१९) संक्रमित धनगढीकी ८८ बर्षिया बृद्धाले अस्पताल नै नगई १० दिनमा होम आइसोलेसन अर्थात् घरमै बसेर कोरोना जितेकी छिन ।  धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी ८८ बर्षिया चन्द्रा भण्डारीले घरमै बसेर कोरोना जितेकी हुन ।

डोटी बस्दै आएकी उनमा श्वासप्रश्वास (दम) को समस्या थियो । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागी धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।  ४ गते त्यहाँ परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको हो । त्यसपछि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

त्यसबिचमा श्वास प्रश्वास सम्बन्धी यान्टिबायोटिक औषधि दिइएको थियो । कार्तिक १३ गते गरिएको परीक्षणमा उनमा कोरोना नेगेटिभ आएको हो । होम आइसोलेसनमा बस्दा तातो पानी,अदुवा बेसार लगायतका घरेलु जडीबुटी सेवन गरेको उनका छोरा चेतराज भण्डारीले बताए । अहिले उनी पूर्ण रूपमा स्वस्थ रहेको परिवार जनले बताएका छन् ।