भारतीयलाई नागरिकता दिलाउन एक लाखमा नक्कली बुबा !
2020/11/03, 11:48
 
nagarikta

भारतीयलाई नागरिकता दिन सिफारिस गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जानकारी दिए । जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

वडाध्यक्षसँगै पक्राउ परेका अन्य तीन जना मध्ये एक जनालाई साधारण तारेखमा छोडिएको छ भने दुई जना कारागार चलान भएका छन् । नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अन्सारीलाई दाई भाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्वर १२ कै खुशिराम चौधरी धरौटी वुझाउन नसकेर कारागार चलान भएका छन् भने गीता चौधरीलाई साधारण तारिखमा छोडिएको प्रवक्ता विष्टले जानकारी दिए । 

टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई  नक्कली बुवा बनाएर नागरिकता लिएको भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले सोमबार नै भएको थुनछेकपछि अदालतले चौधरीसँग ५० हजार धरौटी माग गरेकोमा बुझाउन नसकेर कारागार चलान भएको बताए । 

बुवा बनेर नागरिकता दिलाउने धनगढी उपमहानगरपालिका वडा नम्वर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेका छन् । वडाध्यक्ष पक्राउ परे लगत्तैदेखि उनको खोजी कार्य भईरहेको भएपनि उनी अझैसम्म फेला नपरेका हुन् । भारतीय नागरिक अन्सारीलाई नेपाली नागरिकता दिलाए बापत पुनिरामले एक लाख रुपैयाँ लिएको खुलेको छ । ‘नागरिकता दिनका लागि नक्कली बुबा दाई र भाउजु बने बापत एक लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले भने– ‘त्यो रकम के का लागि लिईएको हो भनेर भनेका छैनन् । तर एक लाख रकम लिएको र दिएको तीन जनाले बयान दिएका छन् ।’

पारिवारिक स्रोतका अनुसार पुनिरामलाई एक लाख रुपैयाँ ऋण लागेको अवस्था अलियास अन्सारीले सो रकम तिरि दिने र त्यो वापत नागरिकताका लागि बुबा बन्ने सर्त राखिएको थियो । सोही अनुसार एक लाख रुपैयाँ लिएर पुनिरामले बुबा र उनका छोरा वुहारीले पनि दाई भाउजु भएको भन्दै नागरिकताका लागि सिफारिस माग गरेका थिए । सोही सिफारिसमा हस्ताक्षर गरेका कारण वडाध्यक्ष गणेश जोशी घटनामा मुछिएका थिए । 

बुवा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्वर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरीको खोजी कार्य भईरहेको प्रहरी भनाई छ । भारतीय नागरिक अन्सारी अहिले कैलालीकै टीकापुर नगरपालिकाको वडा नम्वर ७ मा बस्दै आएका छन् । उनको नागरिकता खारेजका लागि पनि प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ । 

नागरिकता ऐनमा विदेशीले नेपाली नागरिक भएको झुठो दावी गरी नागरिकता प्राप्त गरेमा एक बर्षदेखि ५ बर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेका छ । नागरिकताका लागि सिफारिस र सनाखत गर्ने व्यक्तीलाई ६ महिनादेखि तीन महिनासम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।