नेपाली नागरिता लिने भारतीय कारागार, दिलाउने फरार !
2020/11/03, 11:57
 
adalat

कैलालीमा झुठो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक कारागार चलान भएका छन् । नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सोमबार जिल्ला अदालत कैलालीको आदेशमा अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको बताए ।

टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई  नक्कली बुवा बनाएर नागरिकता लिएको भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले सोमबार नै भएको थुनछेकपछि अदालतले चौधरीसँग ५० हजार धरौटी माग गरेकोमा बुझाउन नसकेर कारागार चलान भएको बताए । चौधरीसँगै पक्राउ परेकी गिता चौधरी भने साधारण तारेखमा छुटेकी छन् । नक्कली नागरिकताका लागि सिफारिस दिने वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी भने २५ हजार धरौटीमा छुटेका छन् । 

बुवा बनेर नागरिकता दिलाउने धनगढी उपमहानगरपालिका वडा नम्वर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेका छन् । वडाध्यक्ष पक्राउ परे लगत्तैदेखि उनको खोजी कार्य भईरहेको भएपनि उनी अझैसम्म फेला नपरेका हुन् । भारतीय नागरिक अन्सारीलाई नेपाली नागरिकता दिलाए बापत पुनिरामले एक लाख रुपैयाँ लिएको खुलेको छ । ‘नागरिकता दिनका लागि नक्कली बुबा दाई र भाउजु बने बापत एक लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले भने– ‘त्यो रकम के का लागि लिईएको हो भनेर भनेका छैनन् । तर एक लाख रकम लिएको र दिएको तीन जनाले बयान दिएका छन् ।’

पारिवारिक स्रोतका अनुसार पुनिरामलाई एक लाख रुपैयाँ ऋण लागेको अवस्था अलियास अन्सारीले सो रकम तिरि दिने र त्यो वापत नागरिकताका लागि बुबा बन्ने सर्त राखिएको थियो । सोही अनुसार एक लाख रुपैयाँ लिएर पुनिरामले बुबा र उनका छोरा वुहारीले पनि दाई भाउजु भएको भन्दै नागरिकताका लागि सिफारिस माग गरेका थिए । सोही सिफारिसमा हस्ताक्षर गरेका कारण वडाध्यक्ष गणेश जोशी घटनामा मुछिएका थिए । 

बुवा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्वर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरीको खोजी कार्य भईरहेको प्रहरी भनाई छ ।