भारतीय नागरिक अलियास अन्सारी कसरी बने अनिश चौधरी ?
2020/11/04, 2:22
 
citizen

भारतीय नागरिक अलियास अन्सारीले नक्कली नागरिकता बनाएपछि प्रहरीले उनलाई पक्राउ गरी कारागार चलान गरेको छ । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका भारतीय नागरिक अन्सारीले नक्कली बुबा बनाएर नेपाली नागरिकता लिईएको पाईएको छ । उनले नक्कली कागजात पेस गरेर नागरिकता लिएको झण्डै दुई बर्ष पछि उनी पक्राउ परेका हुन् । अन्सारीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ को वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता लिएका थिए । 

वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई बुबा बनाएर उनले नेपाली नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कैलालीबाट उनले लिएको नागरिकता खारेजीका लागि प्रहरीले आवश्यक प्रक्रिया अगाडी बढाएको जनाएको छ । 

बुवा बनेर नागरिकता दिलाउने धनगढी उपमहानगरपालिका वडा नम्वर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेका छन् । वडाध्यक्ष पक्राउ परे लगत्तैदेखि उनको खोजी कार्य भईरहेको भएपनि उनी अझैसम्म फेला नपरेका हुन् । भारतीय नागरिक अन्सारीलाई नेपाली नागरिकता दिलाए बापत पुनिरामले एक लाख रुपैयाँ लिएको खुलेको छ । ‘नागरिकता दिनका लागि नक्कली बुबा दाई र भाउजु बने बापत एक लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले भने– ‘त्यो रकम के का लागि लिईएको हो भनेर भनेका छैनन् । तर एक लाख रकम लिएको र दिएको तीन जनाले बयान दिएका छन् ।’ पारिवारिक स्रोतका अनुसार पुनिरामलाई एक लाख रुपैयाँ ऋण लागेको अवस्था अलियास अन्सारीले सो रकम तिरि दिने र त्यो वापत नागरिकताका लागि बुबा बन्ने सर्त राखिएको थियो । सोही अनुसार एक लाख रुपैयाँ लिएर पुनिरामले बुबा र उनका छोरा वुहारीले पनि दाई भाउजु भएको भन्दै नागरिकताका लागि सिफारिस माग गरेका थिए । सोही सिफारिसमा हस्ताक्षर गरेका कारण वडाध्यक्ष गणेश जोशी घटनामा मुछिएका थिए । 

वडाध्यक्षसँगै भारतीय नागरिकता लिने अन्सारी सहित नक्कली बुबा बनेका पुनिरामका छोरा बुहारीलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीहरुमा भारतीय नागरिक अन्सारीलाई पुर्पक्षका लागि कैलाली जिल्ला अदालतको आदेशमा कारागार पठाईएको छ । अन्सारीलाई दाई भाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्वर १२ कै खुशिराम चौधरी धरौटी वुझाउन नसकेर कारागार चलान भएका छन् । नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । नक्कली भाउजु बनेकी गीता चौधरीलाई साधारण तारिखमा छोडिएको प्रवक्ता विष्टले जानकारी दिए । 

अन्सारी बने अनिश चौधरी
अलियास अन्सारी धेरै बर्षदेखि टीकापुरमा बस्दै आएका थिए । उनले धेरै पटक नेपाली नागरिकता लिने प्रयास गरिरहेका थिए । त्यसैक्रममा उनले मुक्ताकमैया शिवीरमा आँखा लगाए । त्यहाँ अप्ठेरोमा परेको को छ भने खोजी गर्दा उनको भेट पुनिराम चौधरीसँग भयो । पुनिराम चौधरीको परिवार मुक्तकमैया हो । उनीहरु पुर्नस्थापनापछि हिम्मतपुर शिविरमा वसेका हुन् । पुनिरामलाई एक लाख रुपैयाँ ऋण लागेको थियो ।

अन्सारीले आफ्नो नागरिकता लिने जुक्ती लगाए । उनले पुनिरामलाई लागेको सवै ऋण तिरि दिने वाचा गरे । तर सर्त राखे त्यसका लागि आफ्नो बुबा बन्ने । ऋण चुक्ता हुने भएपछि नक्कली बुबा बन्न तयार भए । त्यसका लागि उनले छोरा बुहारी खुशीराम र गीतालाई पनि नक्कली दाई भाउजु बनाए । सबै जना तयार भएपछि वडा नम्बर १२ को कार्यालयमा प्रक्रियागत सबै कागजातहरु बुझाए । वडाध्यक्ष जोशीले भएका कागजातहरुको वारेमा खासै खोजीनिति गरेनन् ।

भएका कागजातको आधारमा सिफारिस गरि दिए । त्यसपछि अन्सारीले त्यही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय कैलालीबाट अनिश चौधरीको नाममा नेपाली नागरिकता लिए । तर उनको कर्तुत दुई बर्ष पनि छुप्न सकेन । अहिले उनी जिल्ला कारागार कैलालीमा रहेका छन् ।