धनगढीमा घरधनीले आफ्नै घर भत्काउन थालेपछि सडक विस्तारको काम तीव्र 
2020/11/06, 9:06
 
sadak

कैलालीको धनगढीमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरू घरधनी आफैले धमाधम भत्काउन थालेका छन् । कतिपय जिल्लामा घरधनीले सडक विस्तारका क्रममा मुआव्जा माग्दै मुद्दा मामिला गर्दा सडक निर्माण तथा विस्तारको काम अलपत्र परिरहेका बेला धनगढीमा भने सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन धरधनी आफै लागिपरेका हुन । एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामा सन् २०२० को जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भई काम अघि बढेको हो ।

कैलालीमा धनगढी र गोदावरी तथा कञ्चनपुरको भिमदत्त र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाई धनगढीले सडक निर्माण तथा विस्तारको काम अघि बढाएका छन् । खासगरी उपमहानगरपलिकाको सहजीकरण र समन्वयका कारण धनगढीमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन स्वयम् घरधनी स्वतस्फूर्त लाग्दा सडक निर्माण तथा विस्तारको काममा तिव्रता आएको क्षेत्रीय शहरी विकास आयोजनाका निर्देशक रबिन्द्र बोहराले बताए । निर्देशक बोहराले भने ‘पूर्वाधार विकासको मुख्य शर्त सडक निर्माण र विस्तार भएको भन्दै राइट अफ वेको सवालमा धनगढी उपमहागरपालिका निकै अगाडि देखिएको छ ।’

शुक्रबारसम्म  धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ९ जना घरधनी र वडा नम्बर ५ का ४ जना घरधनीले उपकरणको सहयोगमा धमाधम घर तथा अन्य संरचना भत्काइरहेका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर ५ तारा नगरका गम्भीर सिंह बमले नगरको विकासमा कसैले अवरोध गर्न नहुने बताए । वडा नम्बर २ मा निर्माण भइरहेको गुल्म–चर्च सडक १० मिटर फराकिलो बन्दै छ भने वडा नम्बर ५ भएर निर्माण गरिने क्याम्पस रोड– चटकपुर सडक १६ मिटर फराकिलो बनाइँदै छ ।
  
उप महानगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रूपमा सम्मान गर्ने, भत्काउन नगरपाकिाले उपकरण प्रदान गर्ने, भत्काएको भागको नक्सा पासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरी सम्झौता भएको उप–महानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिए ।