धनगढीमा किशोरीहरुको मार्चपासः बलात्कारी होस तँ ! (भिडियो सहित)
2020/11/07, 4:02
 
rape

कैलालीको धनगढीमा बलात्कार र महिला हिंसा विरुद्ध स्वतन्त्र रुपमा युवतीहरु जम्मा भएर मार्च पास गरेका छन् । धनगढीको मुख्य चोकमा रहेको पार्कमोडमा करिब २५ जना युवती, किशोरीले मार्चपास गरेका थिए । कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाँधेर  बलात्कार र महिला हिंसा विरुद्ध सांकेतिक प्रदर्शन गरेका हुन् ।

उनीहरुले महिला हिंसा र बलात्कार विरुद्ध नबोल्ने हरेक व्यक्ती समाज बलात्कारी सरह हुने भन्दै ‘तँ होस बलात्कारी !’ भन्दै नारा लगाएका हुन् । उनीहरुले मार्चपासमा दमनकारी सत्ता पुरुष प्रधान देशमा नारिहरु दबिन बाध्य भएको उजागर गरेका थिए । यस्तै बलात्कारीलाई फाँसी दिन नमिलेता पनि कडा कानुन ल्याउनुपर्ने बताएका थिए । 

युवतीहरुको मार्चपास सहित ¥यालीमा ‘मलाई बाच्न मन छ मलाई बचाउ’, ‘कस्तो कानुन कस्तो सरकार ?’, कपडा छोटो की नजर खोटो’, ‘सरकार देखाउ इच्छा खोइ त,  महिलाको सुरक्षा ? जस्ता नारा लगाउँदै गीती शैलीमा प्लेकार्ड बोकेर कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाँधेर सांकेतिक प्रदर्शन गरेका हुन् ।

करिब आधा घण्टा गरिएको प्रदर्शनमा उनीहरुले ‘अर्को पालो मेरो पो हो कि ?’ यो अत्याचार अब म सहन्न अब म बोल्छु अब मौन रहन्न’, ‘हत्या हिंसा बलात्कार समाजबाटै बहिष्कार, हरेक नेपाली नारीले लक्ष्मी हैन, काली बनेर आफ्नो रक्षा गर्ने बेला आएको छ’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

कार्यक्रमको अगुवाई गरेकी धनगढीकी अन्जली केसीले महिला हिंसा विरुद्धको प्रत्येक घरको आवाज बुलन्द गर्न सडकमा आएको बताइन् । उनले अहिले पनि धेरै महिला हिंसाका घटनाहरु भएता पनि बाहिर आउन नसकेको र हिंसाहरु नरोकेका भन्दै त्यसको लागि महिलाहरु आफैं अगाडि आउनुपर्ने बताइन् ।