धनगढीमा दुई जना प्रहरीको हत्याका मुख्य नाईके अझै फरार, को हुन् घटनाका नाईके ? 
2020/11/08, 9:34
 
rana

धनगढीमा दुई प्रहरी हत्याको घटनामा जोडिएका नाईकेको खोजीमा प्रहरीले ‘सर्च अप्रेशन’ तिव्र पारेको छ । ती व्यक्तिको खोजीमा प्रहरीले सम्भावित सबै ठाउँमा छापा समेत मारिसकेको छ । दुई प्रहरीको हत्यामा जोडिएको अन्तिम व्यक्ती धनगढी उपमहानगरपालिका–१० चकमलीका ३५ वर्षीय सुकबहादुर राना हुन् । उनी यो घटनाका नाईकेका रुपमा समेत चिनिन्छन् ।

धनगढी उपमहानगरपालिका–१० जुगेडा अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउँदको गस्तीमा गएको बेला कार्तिक १ गते राति साढे १० बजे हत्या भएको थियो । असई बिकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको थियो । त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव मोहना नदीमै फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा उपमहानगरपालिका–१० का सात जना र धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट मटरको कारोवार गर्ने राजीव गुप्ता समेत गरी आठ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले शुरुदेखि नै खोजी गरिरहेका सुकबहादुर राना भने घटना भएकै राति देखि फरार छन् । प्रहरीले सुक बहादुरको खोजीमा कैलाली र कञ्चनपुरका थुप्रै स्थानमा छापा मारिसकेको छ । उनी लुकेको स्थानका बारेमा सुईको पाएपछि प्रहरीले थुप्रै स्थानमा छापा मारेको थियो । तर उनी अहिलेसम्म उम्किन सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम समशेर जवराले रानाको खोजी भईरहेको बताए । राना भागेर भारत पसेको अनुमान गरिएको छ । प्रहरीले ईण्टरपोलको सहयोगमा भारतबाट पक्राउ गरेर रानालाई ल्याउने कोसिस गरिरहेको प्रहरी स्रोत बतायो ।

को हुन सुक बहादुर राना ?
धनगढी उपमहानगरपालिका–१० चकमलीका स्थायी बासिन्दा सुकबहादुर राना हुन् । तर उनले २०१८ सम्म अमर रानाका नामबाट फेसबुक चलाएको पाईएको छ । उनको आफ्नो नाममा फेसबुक आईडी छैन । उनी लामो समयदेखि भारतको बनकट्टी र सलियापारबाट नेपालमा सामान भित्र्याउने र यहाँबाट अवैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी स्रोतले बतायो ।

भारतमा जे कुराको माग छ । उनले स्थानीय व्यापारीसँग मिलेर त्यो सामान भारत पठाउँथे । चकमलीमा उनको गोदाम छ । भारत पठाउने सामान गोदाममा जम्मा गर्थे । र त्यहाँबाट रातिको समयमा भारत पठाउँथे । प्रहरी स्रोतले भन्यो, देशमा नाकाबन्दी हुदा होस वा लकडाउन हुँदा होस उनको यो अवैध धन्दामा कहिल्यै असर परेन । किनकी उनी सीमामा प्रहरीसँग लाईन मिलाएर निर्वाध रुपमा अवैध धन्दा गरिरहे ।

पछिल्लो पटक उनले मटर (केराउ) को तस्करीमा हात हाले । जसमा उनका साभेदार राजीव गुप्ता थिए । उनले राजीव गुप्ता कहाँबाट मटर लगेर गोदाममा जम्मा गरेका थिए । त्यही मटर कार्तिक १ गते राति उनी भारत पुर्याउदै थिए । यस कुराको जानकारी पाएर प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान साउँद चकमल पुगेका थिए । धनगढी उपमहानगरपालिका–१० राना बस्तीको अन्तिम गाउँ हो, चकमली । मोहना नदी नजिकै रहेको यही बस्तीबाट मोहना नदी भएर भारतीय गाउँ सलियापार र वनकट्टी अवैध सामान तस्करी हुने गरेको स्रोतले बतायो ।

स्रोत भन्छ– धनगढी उपमहानगरपालिका–१२ जुगेडा प्रहरी चौकीमा ईञ्चार्ज तथा सरुवा भएर आउने हरेक प्रहरीलाई रानाका बारेमा जानकारी थियो । उनले सबैलाई मिलाएर अवैध धन्दा गर्दै आएका थिए । लाईन र रकमको विषयमा कुरा नमिल्दा प्रहरी ईञ्चार्ज बिक र जवानको हत्या गरिएको पक्राउ परेकाहरुले बयानका क्रममा बताएको प्रहरी स्रोतले जनाएको छ ।