नाका बन्दले रोक्यो वारिपारि बिहे
2020/11/19, 1:49
 
bihe

भारत उत्तराखण्डको टनकपुरका मोहनचन्द्र पाठक भाइ जीवनको जन्ती लिएर मंगलबार गड्डाचौकी नाकामा पुगे । बैतडीको खोड्पे जाने जन्ती दिउँसोसम्म नाकामै अलपत्र पर्‍यो । चम्पावतका जिल्ला अधिकारीको सिफारिस सहित पुगेका उनीहरू दिउँसो मात्रै नेपाल भित्रिए । पीसीआर परीक्षणसँगै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर मात्रै जन्तीलाई भित्रिन दिइएको हो । 

‘डीएमको सिफारिस सहित आएका छौं, यताबाट पीसीआर मागिरहेका छन्,’ पाठकले भने, ‘आधा जतिले त पीसीआर रिपोर्ट पनि बोकेका छन् ।’ राति विवाह गरेर बुधबार जन्ती फर्किसकेको छ । दिउँसै बिहेको लगन भए पनि नाकामा अल्झिँदा राति भएको पाठकले बताए । उनले नाकामा पुगेकामध्ये केही जन्ती पनि फिर्ता पठाएको बताए ।

कञ्चनपुरको महाकाली नगरपालिका–३ का महेश चन्दका भाइहरू उत्तराखण्डकै खटिमामा बस्छन् । खटिमामै बस्ने भतिजाको विवाह नेपालतर्फ तय भएको छ । तर उनलाई पनि नाका बन्द हुँदा जन्ती कसरी ल्याउने भन्ने अन्योल छ । भीमदत्त नगरपालिकाको हल्दुखाल आउने जन्तीलाई कसरी ल्याउने भनेर उनी जनप्रतिनिधिहरूसँग सोधिरहेका छन् । सीमावर्ती क्षेत्रमा वारिपारि विवाहको चलन पुस्तौंदेखिको हो । विगतको तुलनामा हालका वर्षमा यो चलन केही कम भए पनि यस वर्ष लकडाउन र नाका बन्द हुँदा झनै समस्या भएको छ ।

गत वर्ष नै निश्चित भएको विवाह पनि नाका बन्द हुँदा रोकिएको छ । ‘भतिजाको विवाह वैशाखमै गर्ने तयारी थियो, त्यतिबेला लकडाउनले आउनजानै पाइएन,’ चन्दले भने, ‘अहिले पनि नाकामा आउजाउ गर्न गाह्रो भएकाले कसरी जन्ती ल्याउने भन्ने भइरहेको छ ।’ उनका भतिजाको विवाह मंसिर दोस्रो साताका लागि तय गरिएको छ ।

भारतबाट आउनमात्रै होइन, भारततर्फ जन्ती जान पनि विभिन्न झमेलाहरू छन् । जिल्ला प्रशासन कार्यालयको सिफारिससँगै सीमित संख्यामा जन्ती लैजान पाउने गरिएको छ । अहिले जिल्ला प्रशासनमा भारततर्फ जन्ती जानका लागि तीनवटा सिफारिस माग गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । ‘सामाजिक कार्य भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने जन्तीलाई आउनजान दिने भन्ने भएको छ,’ उनले भने, ‘भारतबाट आउने जन्तीका लागि भने हामीले पीसीआर अनिवार्य भनेका छौं ।’

उनका अनुसार मंगलबार भित्रिएको जन्तीमा पनि अधिकांशको पीसीआर गरिएको थियो । पीसीआर परीक्षण नभएकालाई नाकाबाटै फिर्ता पठाइएको उनले बताए । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि चैत ११ देखि नाकामा आउजाउ असहज छ । त्यहीबेलादेखि बिहेबारीलगायत अन्य सामाजिक कार्यहरू प्रभावित भएका छन् ।

वारिपारि विवाह भएका छोरीबेटीहरूले पनि चाडपर्वका समयमा आउजाउ गर्न पाएका छैनन् । ‘भाइटीकाका लागि माइत जाने भनेको आधार कार्ड वा सिफारिस माग्न थाले,’ सीमावर्ती बजार खटिमामा माइत भएकी भीमदत्त–६ वनगाउँकी पार्वतीदेवी चन्दले भनिन्, ‘सानैमा बिहे भयो, हामीसँग आधार कार्ड कहाँबाट हुन्छ रु’ पछिल्लो समय रोजगारीसँगै उपचार र पेन्सनका लागि जानेहरूलाई जिल्ला प्रशासनको सिफारिसमा जान दिने गरिएको छ ।

७ महिनादेखि रोकिए बिहे

बैतडीको दशरथचन्द–१० खडेनीकी भावना बुडालको गत वैशाखमै बिहे पक्का थियो । सीमापारि भारतको पिथौरागढ जिल्लाबाट हात माग्न केटा पक्ष आएपछि परिवारले फागुनमै छोरी दिने पक्का गरेका थिए । चैतमा कोरोना भाइरसको जोखिमले गर्दा नेपाल–भारत दुवैतर्फ लकडाउन भएसँगै बैतडीको सीमानाका झुलाघाटको पुल बन्द भयो । बिहे पनि रोकियो । वैशाखमा तय भएको बिहे पुल खुल्ला र गरौंला भन्दा उनको परिवार छोरीको बिहेका लागि कुरिरहेको ७ महिनाभन्दा बढी भइसक्यो ।

घरबाटै टिकोटालो गरेर छोरी अन्माउने योजना बनाएको परिवार अहिले निराश छ । महिनौंसम्म छोरीको बिहे रोकिँदा नरमाइलो लागेको आमा शान्ति बुडालले भनिन् । पारिबाट केटापक्षले ट्युबबाट नदी तरेर भए पनि बिहे गर्न पर्‍यो भन्न थालेको उनले बताइन् । दुई छोरी र एक छोरामध्येकी जेठी भएकाले पनि धुमधामसँग बिहे गर्ने योजना रहेको उनले सुनाइन् । ‘यही पुल बन्दले सपना पूरा हुन देलाजस्तो छैन । तर मनमा आशा छ । छोरीको बिहे छिटै गर्न पाउँछु कि भन्ने,’ उनी भन्छिन् ।

भारतसँग सीमा जोडिएको दशरथचन्द नगरपालिकाको महाकाली नदी आसपासका गाउँबस्ती र तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर, शिवनाथ गाउँपालिकाका स्थानीयको बिहेबारी धेरैजसो पारि भारतीय क्षेत्रमै हुने गरेको छ । उनीहरूका इष्टमित्र र आफन्तहरू उतैतिर घरजम गरी बसेका धेरै भएको पञ्चेश्वर–२ का वडाध्यक्ष दशरथ मंगोलाले बताए ।

जिल्लामा अन्य क्षेत्रबाट पनि भारतीय गाउँमा बिहेबारी हुने गरेको छ । दशरचन्द–४ की रेश्मा भुलको बिहे पनि भारतको पिथौरागढमा गत वैशाखमै गर्ने तयारी थियो । चार वर्षअघि नै कुराकानी भएको बिहेको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको थियो । चैतबाट कोरोनाको जोखिमका कारण झुलाघाटको पुल बन्द भएपछि उनको बिहे पनि रोकिएको छ ।

‘धेरै महिना भइसक्यो । अब त समस्या हुने भयो । पक्का भएको बिहे लामो समय भइसक्यो । अलि अघि गर्ने भनेर प्रशासनमा कुरा राखेका थियौं । यताबाट सीडीओ सरले बिहेका लागि सहयोग गरौंला भन्नुभयो । तर उताको डीएमले नमानेकाले भएन,’ दिदी लक्ष्मीले भनिन् । उनले फेरि केही दिनअघि प्रशासनमा कुरा गरेको बताइन् ।

उनीहरू सीमा पुलको ढोका खुल्ला र छोराछोरीको बिहे गरौंला भन्ने आशामा बसेका छन् । आफ्नो गाउँका २र४ बिहे पनि रोकिएको दशरथचन्द–४ की वडासदस्य पार्वती भुलले बताइन् । उनका अनुसार यस्ता धेरै बिहेहरू रोकिएका छन् । बिरामी, परीक्षार्थी, बिहेबारीसँगै अन्य पारिवारिक समस्याका निवेदन बोकेर वारिपारि गर्न माग गर्दै दिनहुँ निवेदन आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले माथिल्लो निकायमा नाका खोल्ने अनुमति दिन माग गरेको थियो ।

आपत्मा परेका र अत्यावश्यक कामका लागि आउजाउ गर्न दिन प्रशासनलाई आएको निर्देशन भारतीय डीएम कार्यालयलाई पठाए पनि उताबाट जवाफ नआएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाताए । उनका अनुसार पिथौरागढ जिल्लाका डीएमसँगको सहकार्यमा आपत्मै परेकालाई पुलबाट आवतजावत गर्न दिइएको छ । कान्तिपुरबाट