सुदूरपश्चिमका जनप्रतिनिधि भन्छन्– ‘सरकार ईमेल हैन, परीक्षण किट पठाऊ’
2020/05/28, 8:51
 
korona

गत जेठ ८ गतेदेखि अछामको मेल्लेख गाउँपालिकामा मात्र ४ सय ७ जना मानिस भारतबाट फर्किएका छन । धनगढीको गौरिफन्टा नाका हुँदै फर्किएका उनीहरूको एक जनाको पनि कोरोना परीक्षण गरिएन । नाकामा आएपछि उनीहरूलाई पिसिआर त के एक जनामा पनि ¥यापिड टेस्ट नगरी गाउँपालिकाको जिम्मा लगाइयो । उँपालिकाले पनि धनगढीबाट उनीहरूलाई गाडीमा मेल्लेख पु¥याए । अहिले ४ सय ७ जना नै गाउँपालिकाको क्वारेन्टिनमा रहेको अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए । तर क्वारेन्टिनमा पनि उनीहरूको कोरोना परीक्षण गर्न सकिएको छैन ।

अध्यक्ष बोहराले किट नहुँदा परीक्षण गर्न नसकिएको बताए । ’हामीसँग ¥यापिड टेस्ट किट पनि छैन, अब कसरी परीक्षण गर्ने ?,’ उनले भने । अध्यक्ष बोहराले क्वारेन्टिनमा भएकाहरूलाई पनि व्यवस्थापन गर्न नसकिएको बताए । उनले क्वारेन्टिन मापदण्ड अनुसार मानिसहरूलाई राख्न नसकिएको सुनाए । उनले भने, ’२० जनाले एउटै शौचालय प्रयोग गर्नुपर्ने स्थिति छ । क्वारेन्टिनमा सुत्ने बेड छैन । कपडा ओछ्याएर सुतिरहनुभएको छ। सामाजिक दूरी पालना भएको छैन । अनि यस्तो तरिकाले जोखिम बढ्ने नै भयो नि ।’ उनले भारतबाट थप मानिस आउने क्रम रहेकाले आगामी व्यवस्थापन गर्न नसकिने बताए ।

गाउँपालिकाले भारतबाट झन्डै ३ हजार व्यक्ति आउने अनुमान गरेको छ । तर अध्यक्ष बोहराले भने, ’हामीसँग १ हजार व्यक्तिलाई मात्र राख्न सक्ने क्वारेन्टिन छ । अब त्योभन्दा माथिलाई राख्न सकिन्न । त्यसैले पछि आउनेहरूलाई सोझै घर पठाउनुको विकल्प छैन ।’ तर सरकारले समयमा किट उपलब्ध गराउन सके व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । किट नहुँदा क्वारेन्टिनमा रहेकाहरूको परीक्षण गरेर घर पठाउन नसक्दा क्वारेन्टिन खाली नहुने उनी बताउँछन । ’अब यी ४ सय ७ जनाको केही दिनमा क्वारेन्टिन बसाइँ सकिँदैछ तर परीक्षण गर्ने किट छैन । अनि हामीले कसरी अरु मान्छेलाई राख्ने ठाउँ बनाउने ? यसमा प्रदेश र संघीय सरकाले सोच्ने कुरा हैन,’ उनले रोष पोखे । उनले यसरी नाकाबाट गाउँपालिका ल्याउन गाडी व्यवस्थापन गर्न पनि समस्या रहेको बताए ।

उनले भने, ’गाडीले संक्रमणको जोखिमका कारण ल्याउन मान्दैन । अनि यस्तो समस्यामा प्रदेश सरकारले पनि कुनै चासो देखाउँदैन । स्थानीय तह एक्लैले कसरी गर्ने ?’ उनले पटक पटक प्रदेश सरकार र केन्द्र सरकारसँग समस्याबारे कुरा राख्दा पनि सरकारले गम्भीर रूपमा नलिएको बताए । ’प्रदेश र केन्द्र सरकारले एउटा मेल गर्ने काम जानेको छ। हामीलाई मेल हैन परीक्षण गर्ने किट चाहिएको हो,’ अध्यक्ष बोहराले भने । उनले क्वारेन्टिनमा कसैलाई सम्भावित लक्षण देखिए पिसिआर परीक्षणको लागि स्वाब झिक्ने स्टिक र हाल्ने भिटिएम भाँडो पनि नभएको बताए ।उनले भने, ’पिसिआरको त कुरै छाडौं, ¥यापिड टेस्ट किट पनि जिल्लाबाट जम्मा २० वटा आएको छ । अनि ४ सय जनामा कस्को गर्ने, कस्को नगर्ने ?’

डडेलधुराको पर्शुराम नगरपालिकामा पनि गएको तीन दिनयता भारतबाट साढे ३ सय मानिस आएका छन । उनीहरू नाकामा बिना परीक्षण आएको नगरपालिकाका मेयर भीमबहादुर साउदले बताए । उनले आज पनि डेढ सय मानिस भारतबाट नगरपालिका भित्रिन लागेको जनाए । नगरपालिकाले भारतबाट मात्र कम्तीमा ४ हजार मानिस आउने अनुमान गरेको छ । तर नगरपालिकासँग ८ सय मानिसलाई मात्र राख्न सक्ने क्वारेन्टिन क्षमता छ । नगरमा आएर क्वारेन्टिनमा बसेकाहरूको पनि परीक्षण भएको छैन । मेयर साउदले भने, ‘¥यापिड टेस्ट किट छैन । पिसिआरको लागि भिटिएम छैन, अनि कसरी परीक्षण गर्ने ?’ उनले किट अभावबारे पटक पटक प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको भए पनि किट उपलब्ध हुन नसकेको बताए । ’मैले ५० चोटिभन्दा बढी प्रदेश र केन्द्रलाई पत्र लेखिसकें । सबैले हुन्छ मात्र भन्छन् तर किट आएको हैन,’ उनले भने ।

कोरोनासँगको लडाइँ स्थानीय तह एक्लैले लड्न नसक्ने दुवै जनप्रतिनिधिको निष्कर्ष छ । ’हामी थाकिसक्यौं । प्रदेश र संघीय सरकारले नहेरे यो नियन्त्रणभन्दा बाहिर जान्छ । यहाँ कति समस्या झेलिरहेको छ भन्ने कुरा हामीलाई नै थाहा छ’ दुबै प्रमुखले भने, ’हजारौं मान्छे सीमामा अलपत्र परेका छन । पानी पिउन पाएका छैनन । यस्तो बेला मानवीयता हुनुपर्छ । उहाँहरूको व्यवस्थापन गर्ने हामीले नै हो । यो कुरा हामीले सुन्छौं तर प्रदेश र केन्द्रले सुन्दैन ।’

हिजो  मात्र धनगढीस्थित गौरिफन्टा नाकाबाट मात्र ४ हजार बढी मानिस सुदूरपश्चिम भित्रिएका छन । उनीहरूको कसैको पनि परीक्षण नगरी सम्बन्धित पालिकाहरूलाई जिम्मा लगाएको छ । पालिकाहरूले भने यसरी नाकामा पनि परीक्षण नगर्ने र किट पनि नदिने हो भने संक्रमण नियन्त्रण बाहिर जाने जनाएको खबर सेतोपाटीले लेखेको छ ।