सुदूरपश्चिममा कोरोनाका कारण पहिलो स्वास्थ्यकर्मीको मृत्यु
2020/11/21, 12:32
 
death

सुदूरपश्चिममा कोरोना संक्रमणका कारण पहिलो स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।  अछामको तुर्माखाँद गाउँपालिका–१ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज, सिनियर अहेब कपिल श्रेष्ठको शुक्रवार अपराह्न १२ बजे उपचारका क्रममा  सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–५ निवासी ५५ वर्षीय श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । एक वर्ष अघि २०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत थिए ।

दसैँ बिदा मनाउन उनी धनगढी घर आएका थिए । दसैँ मनाएर कार्यक्षेत्र अछाम फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछि फेरि धनगढी फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोरोनाका कारण सुदूरपश्चिममा ज्यान गुमाउने श्रेष्ठ पहिलो व्यक्ति भएको बताए । 

कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार श्रेष्ठको हिन्दु संस्कार अनुसार अत्यष्टी गरेको थियो ।