गडसेरी माईला सुदूरपश्चिमका फेशवुकका सेलिब्रेटी हुनभन्दा फरक पर्दैन् । समसामयिक विषयवस्तुमा उनले गर्ने तिखो व्यंग्यले उनलाई सेलिब्रेटी नै बनाएको छ । उनले सामाजिक विकृती र वर्तमान राजनितक घटनाक्रमका बारेमा गर्ने तिखो प्रहार र चोटिलो व्यंग्य पढ्न लायक हुन्छ । मानिसको आनि बानीलाई व्यंग्य गर्दै गडसेरी माईलाले एक व्यंग्य कविता लेखे उठ युवा हो उठ ।
म बुढो नि उठिसके ....
उठ युवा हो उठ !
उठ युवती हो उठ !
घर घर बाट उठ !
कोठा कोठा बाट उठ !
हातमा मोबाइल लिएर उठ !
फेसबुक,ट्वीटर खोल्नलाइ उठ !
उठ युवा हो उठ !
उठ युवती हो उठ !
म बुढो नि उठिसके !
मोबाइलको रिचार्ज गर्नलाई उठ !
वाइफाइको सदुपयोग लिन लाइ उठ !
मोबाइलको डाटा सक्न लाई उठ !
सिरक भित्रैबाट मोबाइल चलाउनलाइ उठ !
उठ युवा हो उठ !
उठ युवती हो उठ !
म बुढो नि उठि सके !
च्याटमा फ्रेन्डको दिमाग चाट्नलाइ उठ !
केटा भए केटी बनेर उठ !
केटी भए केटा बनेर उठ !
फेक आइडि को हतियार लिएर उठ !
उठ युवा हो उठ !
उठ युवती हो उठ !
म बुढो नि उठिसके !
कसैको घरबार जोर्न लाई उठ !
कसैको घरबार फोर्न लाई उठ !
नेताको चाकरी गर्नलाई उठ !
पार्टी लाई गाली गर्नलाई उठ !
उठ युवा हो उठ !
उठ युवती हो उठ !
म बुढो नि उठिसके !
लाइक गर्न लाई उठ !
कम्मेन्ट गर्न लाई उठ !
शेयर गर्न लाई उठ !
फेसबुकबाटै देशको विकास गर्नलाई उठ !
यो व्यंग्य कविताको पक्षमा र विपक्षमा तर्क आए । कमेन्टहरु थुप्रिए । प्रतिक्रियाहरु होईरिए । त्यसपछि गड्सेरी माहिलाले अर्को व्यंग्य लेखे त्यसको विपरित जस्तै । शिर्षक थियो सुत युवा सुत ।
सुत युवा हो, सुत !
उठेर पो क्यार्नु छ र ?
तिनै नेताका बासी कुरा सुन्नु त हो ।
तिनकै झगडा हेर्नू त हो ।
तिनकै स्टाट्समा लाइक कम्मेन्ट गर्नु त हो ।
सुत युवा हो, सुत !
उठेर पो क्यार्नु छ र ?
आफ्नाको भजन गाउनु र आरती उतार्नु त हो ।
अर्काको सत्तोसराप गर्नु र खोइरो खन्नु त हो ।
त्यहि फेसबुकमा राजनैतिक स्टाट्स लेख्नु त हो ।
सुत युुवा हो,सुत
उठेर पो क्यार्नु छ र ?
त्यहि जापनिज कोरियन भाषा सिक्नु त हो ।
त्यहि म्यानपावर कम्पनी बाट ठगिनु त हो ।
त्यहि भिसा पासपोर्टको लाइन लाग्नु त हो ।
त्यहि घरखेत बेचेर बिदेशिनु त हो ।
सुत युवा हो, सुत
उठेर पो क्यार्नु छ र ?
पार्टीको झोले बन्यौ भने, देशमै केही होला ।
नत्र अरबमा उँट बाख्रा चराउनु त हो ।
प्याजका बोक्रा र माछाका कत्ला छोडाउनु त हो ।
त्यहि काठको बाकसमा फिर्तिनु त हो ।
सुत युवा हो, सुत
उठेर पो क्यार्नु छ र ?
जति विद्रोह गरे पनि उस्तै त हो ।
जति आन्दोलन गरे पनि उस्तै त हो ।
नेताहरूका लागि सत्ता र भत्ता त हो ।
जनताको लागि उही उत्तानो टाङ त हो ।
सुत युवा हो, सुत
उठेर पो क्यार्नु छ र ?
किसानले मल बीउ पाउन नसकेको स्थिति उस्तै हो ।
सरकारी अस्पताल र स्कुलको स्थिति उस्तै हो ।
निजी अस्पताल र कलेजको मुल्यबृद्धि उस्तै हो ।
कर्मचारीको रूखो व्यवहार उस्तै हो ।
उनले यो व्यंग्यलाई वादविवाद जस्तै बनाईयो । अर्थात वादविवादमा राम्रो की नराम्रो भनेर त्यसको वारेमा लेख्नु वा भन्नु हो । उनले लेखेका दुई व्यंग्य कवितामा एउटामा युवालाई उठ्न भने भने अर्कोमा सुत्न भने । अनि यहीबाट सुरु भएको युवाहरु उठ्ने कि सुत्ने बिषयको वादविवाद । बैतडीबाट युवाले उठ्नुपर्ने पक्षमा उभिए बैतडीका घनश्याम सागर पन्त । उनले युवाहरु किन उठ्ने भनेर गडसेरी माईलालाई आफ्नो व्यंग्यमा भने ।
उठ युवा हो उठ !
हात हातमा मोबाइल लिएर उठ !
आफ्नो गुटलाइ राम्रो भन्नलाइ उठ !
अर्काे गुट लाई गाली गर्नलाई उठ !
फेसबुकको मोर्चा कस्नलाइ उठ !
स्टाट्स माथि स्टाट्स डाम्नलाइ उठ !
प्रम र अध्यक्ष हुने को पो हो ?
एक आपसमा रिसारिस गर्नलाई उठ !
कम्मेन्टको लौरो हान्नलाइ उठ !
उठ युवा हो उठ !
बुढाहरू पार्टी फुटाउन नि नसक्नी भए
युवाहरु उठ्ने पक्षमै रहे कैलालीका हरिश भट्ट पनि । उनले पनि युवाहरुले उठ्नु पर्ने आवाज उठाए । उनल युवाहरु उठ्नुपर्ने कारण पनि पेस गरे ।
उठ युवा उठ
कति सुति राख्छौं
कति अल्छी गर्छौं
बिस्तरा भित्र सुतेर
कति मोबाइल मात्रै चलाउछौं
कति विवाहको मात्रै कुरा गर्छौं
कति राजनीतिक मात्रै कुरा गर्छौं
कति पार्टीका मात्रै कुरा गर्छौं
कति गुटको मात्रै बचाउ गर्छौं
उठ युवा उठ
अब उठ्ने समय भयो
जाग्ने समय आयो
गाउँ बस्ती अनि देश
बनाउने समय भयो
जोसिलो छौं
आटिलो छौं
तातो रगत छ
हिम्मत छ
आट छ
यो देश बनाउन तिमी नै सक्छौ
उठ युवा उठ
गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
खेतबारीमा जानलाई उठ
मेला पात जानलाई उठ
पढ्नलाई उठ
कुला नाला बनाउनलाई उठ
बाटो घाटो बनाउनलाई उठ
परिवर्तन गर्नलाई उठ
उठ युवा उठ
भ्रष्टाचारीलाई खेद्न उठ
बलात्कारीलाई खेद्न उठ
दलाली, बचौंलियालाई खेद्न उठ
देश बनाउन छाडि
आफ्नो दुनु सोजाउनेलाई खेद्न उठ
देश नबनाउनेलाई
गाउँ गाउँबाट खेद्
बस्ती बस्तीबाट खेद्
हातमा कोदालो हुने
कोदालो लिएर खेद्
हातमा डण्डा हुने
डण्डा लिएर उठ
उठ युवा उठ
देश बनाउनकै लागि भए पनि उठ ।।
आजभोली पनि वादविवाद चलिहरेकै छ यो विषयको । अझैं पक्ष र विपक्षमा उभिने क्रम जारी नै छ ।