भेन्टिलेटरमा पुगेका कोरोना संक्रमितलाई बचाउनै कठिन 
बिरामीको अस्पताल बसाइ लम्बियो
2020/12/05, 12:31
 
corona

पछिल्ला दिनमा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामी लामो समयसम्म निको हुन सकेका छैनन् भने आईसीयू र भेन्टिलेटरमा पुगेकालाई बचाउन कठिन हुन थालेको छ। सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दैनिक एक जनाको हाराहारी संक्रमितको मृत्यु भएको छ। 

जेठ १८ गते पहिलो पटक कोरोना संक्रमितको मृत्यु भए पनि कार्तिक सुरुदेखि दैनिक रुपमा संक्रमितको मृत्यु हुन थालेको हो।  शनिबारसम्म आइपुग्दा कोरोना संक्रमणबाट सुदूरपश्चिममा ५८ जनाको मृत्यु भएको छ। पछिल्लो साता १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालको अहिलेको मृत्युदर ०.६५ प्रतिशत छ। यो दर हेर्दा कोरोना महामारीको मृत्युदर अझै बढ्ने आँकलन विज्ञहरुको छ। 

भरिभराउ रहेका प्रदेशका अस्पतालका आइसोलेसन बेड पछिल्लो समय खाली हुँदै गएका छन्। तर आईसीयू र भेन्टिलेटर भने खाली हुन पाएका छैनन्। सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका नुसार आईसीयू तथा भेन्टिलेटरमा भने बिरामीलाई पालो पाउन मुस्किल छ। 

संक्रमित धेरै दिनसम्म  भेन्टिलेटरमा
अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार अहिले अस्पताल आएका बिरामीलाई पहिलाको भन्दा धेरै समय राख्नुपरेको छ। पहिला १० दिन हाराहारीमा घर पठाइन्थ्यो भने अहिले तीन सातासम्म राख्नुपरेको उनी बताउँछन्। अस्पतालका अनुसार कतिपय त ४० दिनसम्म भेन्टिलेटरमा राखेपछि संक्रमणमुक्त भएका छन्। उनले भने, ‘बिरामीलाई जति धेरै समय आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ त्यति नै समस्या थपिँदै जान्छ। त्यस्ता बिरामीको मृत्युदर बढी हुने गरेको छ।’

उमेर समूह बढी भएका संक्रमितलाई लामो समय उपचार गर्नुपर्ने डा. निराजनदत्त शर्मा पौडेले बताउँछन्। अस्पतालको तथ्यांक अनुसार ६० वर्षभन्दा बढी उमेर समूहका मानिसको मृत्यु हुने गरेको छ। अस्पताल आउने अधिकांश बिरामी होम आइसोलेसनका हुन्। संक्रमित भएर होम आइसोलेसनमा बसेका बिरामी स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुग्ने गरेका छन्। डाक्टर पौडेलका अनुसार श्वासप्रश्वासको समस्या भएर आउनेको संख्या बढेको छ।  अस्पतालमा आउने बिरामीमध्ये ९० प्रतिशत बिरामी अक्सिजनको लेभल घटेर आउने गरेका छन्। 

‘होम आइसोलेसनमा बसेका बिरामी अस्पताल आइपुग्दा निमोनिया भइसकेको हुन्छ’, सेतीको कोभिड १९ अस्पतालका प्रमुख डाक्टर शेरवहादुर कमर भन्छन्, ‘निमोनियाले ग्रसित भएर आएका बिरामीलाई रिकभर गर्न धेरै समय लाग्छ। त्यसैले अस्पताल बसाइ लम्बिनु स्वाभाविक हो।’ उनका अनुसार घरबाट आउने बिरामी लगातार एक हप्तासम्म ज्वरो आएका, अक्सिजनको स्याचुरेसन लेभल ६०–६५ रहेको हुन्छ। त्यस्ता बिरामीलाई तत्काल अक्सिजन दिनुपर्ने हुन्छ। 

होम आइसोलेसनमा लापरबाही
सरकारले होम आइसोलेसनमा बस्दा के गर्ने भन्नेबारे मापदण्ड पनि जारी गरेको छ। कोभिड अस्पतालका प्रमुख डाक्टर कमरका अनुसार होम आइसोलेसनमा लापरबाही गरेको पाइएको छ। होम आइसोलेसनमा बस्नेले स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमितलाई अकस्मात् समस्या देखिने गरेका छन्। 

सचेत वर्गले भने आफूलाई असहज महसुस गर्ने बित्तिकै अस्पताल पुग्दा उनीहरुलाई निको हुन सहज भएको छ। कतिपयलाई होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना नगर्दा समस्या थपिएको डा. कमर बताउँछन्। चिकित्सकका अनुसार होम आइसोलेसनमा संंक्रमित बस्ने कोठा उज्यालो र पर्याप्त हावा आउने हुनुपर्छ। रोग प्रतिरोधक क्षमता बढाउन पोषिलो खानेकुरा खानुपर्छ।

पर्याप्त पानी, फलफूल तथा झोलिलो र हाई प्रोटिन खानेकुरा सहितको सन्तुलित खानेकुरा खानुपर्ने सुझाव डा. नेपालको छ।  साथै संक्रमितलाई ज्वरो आए वा नआएको कम्तीमा दिनमा दुई पटक जाँच गर्नपर्छ। अन्य स्वास्थ्य समस्या पनि भए–नभएको ख्याल गर्नु जरुरी रहेको चिकित्सक बताउँछन्। 

चिसो बढेपछि  समस्या 
डा. कमरका अनुसार जाडो सुरु भएपछि दम, फोक्सो तथा मिर्गाैलाका बिरामीलाई बढी गाह्रो हुने गरेको छ । जसले गर्दा कारण मृत्युदर बढेको छ। दमका बिरामी र दीर्घरोगीलाई पनि चिसो र कोरोना संक्रमण दुवै हुँदा समस्या देखिएको उनले बताए।