नेपालमा कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण टीकापुरका मानसिंह परियार पाँच महिनादेखि राम्ररी सुतेका छैनन्। मानसिंहका दुई छोरा रोजगारीका सिलसिलामा विदेशमा थिए। विश्वभरि महामारीकारुपमा फैलिएको कोरानाका कारण छोराको रोजगारीसमेत गुमेपछि उनको भोक निद्रा हरायो।
नेपालबाट रकम पठाएर भारतमा रहेका छोराबुहारीलाई मानसिंहले नेपाल ल्याए। मानसिंहलाई रोजगार गुमेर विदेशमा रहेका छोराको अझै चिन्ता छ। दुवै छोराको रोजगार सङ्कटमा परेपछि उनको घरखर्च चलाउनसमेत समस्या भएको छ। यतिधेरै समस्या झेल्नुभएका उनलाई आजभोलि भोक, निन्द्रा नलाग्ने र एक्लै कुरा गर्ने बानी बसेको छ।
“मलाई चिन्ता त चैतबाटै शुरु भयो, तर निन्द्रै नलाग्ने समस्या भएको पाँच महिना भयो”, उनले भने, “निन्द्रा हराउनेसँगै अन्य समस्या पनि शुरु भयो। खाना खान मन नलाग्ने, टोलाउने, अरुसँग रिस उठ्नेजस्ता समस्या भएका छन्।” नेपालमा गत चैतदेखि बन्दाबन्दी भएको हो। बन्दाबन्दीपछि नेपालको सामाजिक र आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। सामाजिक र आर्थिक क्षेत्रमा परेको क्षतिको असर मानिसको मनसम्मै पुगेको छ। विदेश तथा भारतमा रहेका आफन्तको कमाइबाट घर चलेका कैलालीका केही परिवारमा मनोसामाजिक समस्या देखिन थालेको छ।
कैलालीकै अर्की महिलालाई पनि मनोसमस्या शुरु भएको छ। दुई छोरा र श्रीमान् रोजगारीका सिलसिलामा भारतमा थिए। बन्दाबन्दी भएपछि तीनै जनाको रोजगारी गुम्यो। घरमा चुल्हो बल्न पनि मुश्किल भयो निकै कष्ट झेलेका श्रीमान् भारतबाट घर फर्केपछि १४ दिन क्वारेन्टिनमा अलग्गै बसे। “मलाई छिनछिनमा पसिना आउँछ, काम गर्ने जागर चल्दैन, एक्लै बोलिरहेको हुन्छु”, उनले भने, “ओहो चिन्ताले मानिसलाई बर्बाद पार्दोरहेछ, म दुब्लाएकी छु।”
बन्दाबन्दीपछि गर्भवती तथा सुत्केरीले अझ बढी मानसिक तनाव झेले। कैलालीकी कामना बोहराले बन्दाबन्दीकै बीचमा बच्चा जन्माइन। गर्भावस्थामा उनलाई निकै तनाव भयो, जसले उनी कमजोर भएकी थिइन। “भारतमा रहेका श्रीमान्को रोजगार गुमेको छ। मेरो बच्चा अहिले एक महिनाको छ”, कामनाले भनीन, “तीन दिनसम्म सुत्केरी ब्यथा लाग्यो, कोरोना सङ्क्रमणको डरले शुरुमा अस्पताल जान सकिएन। सुत्केरीपछि बढी रक्तश्राव भएपछि आफन्तले अस्पताल ल्याए, अनि बाचेँ।”
कामनाको शरीरमा डाक्टरले रगत कम भएकाले चढाउनुपर्ने बताएपनि आर्थिक समस्याले चढाउन सकिनन्। गर्भावस्थामा त्रासले सुत्नै नसकेको उनको अनुभव छ। “अहिले पनि मलाई निन्द्रा नलाग्ने समस्या छ, बच्चा सानो छ। गर्भावस्थामा पनि आर्थिक र मानसिक तनावले म खुशी रहन सकिनँ”, कामनाले भनीन, “अहिले बच्चा पनि कमजोर छ। म त राति निन्द्रामा पनि बर्बराउन थालेँ, छिमेकी स्वयंमसेविकालाई समस्या भनेपछि डाक्टरको सल्लाहनुसार औषधि खाइरहेकी छु।”
टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता धनराज विक बन्दाबन्दीपछि कैलालीको टीकापुरका २५४ जनालाई मनोपरामर्श सेवा दिएको बताए। विकका अनुसार बन्दाबन्दीपछि मनोसमस्या देखिनेमा महिलाको सङ्ख्या बढी छ। मानसिक समस्या समयमै व्यवस्थापन गर्न नसके भविष्यमा सङ्कट निम्तने देखिन्छ। “मनोसमस्या देखिनेमा धेरै वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य, विदेश तथा भारतबाट फर्केर रोजगारी गुमेका नागरिक, गर्भवती, बच्चाका आमाहरु छन्”, मनोसामाजिक परामर्शकर्ता विक भन्छन्, “किशोर किशोरीमा पनि मनोसमस्या देखिएको छ। लामो समय विद्यालय नचल्दा विद्यार्थीमा पनि गलत विचार आउनुले पछि मनोसमस्या हुनसक्छ।”
मनोचिकित्सक डाक्टर मोहन बेल्वासे कोरोना सङ्क्रमण बढेपछि मनोसामाजिक समस्या बढेको बताउछन्। उनी मानसिक समस्याको समयमै उपचार गरिएन भने पछि जटिलता आउने भएकाले समयमै उपचार गर्नुपर्ने बताउँछन्। “बन्दाबन्दीपछि बिरामी दोब्बरले बढेका छन्। मानिसको जीवनमा सामान्य परिवर्तन आयो, अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ”, मनोचिकित्सक डा बेल्वासे भन्छन्, “मन नै सबैभन्दा ठूलो कुरा हो। यही मनले अपराध गर्छ भने यही मनले माया र सद्भाव बाँडेको हुन्छ, त्यसैले मनमा गलत विचार र गलत सोँच आउन दिनुहुँदैन।” डा. बेल्वासेले तनाव र समस्यालाई सामान्यरुपले व्यवस्थापन गर्ने बाटो खोज्न परिवार, समाजका साथ चाहिने र समस्या भएकालाई समयमै उपचार सेवा दिनुपर्ने सुझाव छ।