धनगढीको कोरोना उपचार कक्ष हस्तान्तरण भयो तर संचालन भएन
2020/05/29, 6:02
 
korona hospital

धनगढीमा निर्माण सम्पन्न गरिएको कोरोना उपचार कक्ष हस्तान्तरण भएपनि संचालनमा आउन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको लगानी तथा जिल्ला स्वास्थ्य कार्यालय कैलाली मार्फत निर्माण सम्पन्न भएको अस्पताल सेती प्रादेशिक अस्पताल धनगढीलाई हस्तान्तरण गरिदा पनि संचालनमा आउन नसकेको हो । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पाँच दिन अगाडी गत सोमबार अस्पताल हस्तान्तरण गरेका थिए ।

भवन निर्माण सम्पन्न भएपनि अन्य स्वास्थ्य उपकरण लगायतका सामागी जडानको काम बाँकी रहेको संचालनमा आउन ढिलाई भएको सेती पादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जानकारी दिए । ‘भवन बन्यो सामान व्यवस्थापनको काम भईरहेको छ । आईसियु, एनआईसियु लगायतका उपचार सामागीहरु जडानको  काम भईरहेको छ ।’ मेसु पाण्डेयले भने— ‘कोरोना संक्रमितहरुलाई सम्भवत आईतबारदेखि राख्ने योजना बनाईरहेका छौं । त्यसका लागि डाक्टर नर्सहरुको डयुटी पनि बनाईसकेका छौं ।’ 

किनारा कन्सट्रक्सनले ९४ लाख रुपैयाँको लागतमा निर्माण गरेको अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने शैयया, अक्सिजन प्लान्ट, खानेपानी, बिजुली, शौचालयको व्यवस्थापनको काम भईरहेको छ । अब थप व्यवस्थापन र सञ्चालनको काम सेती प्रादेशिक अस्पताललाई दिईएपछि भवन बाहेकको काम भईरहेको डाक्टर पाण्डेयले बताए ।  वैशाख १ गतेदेखि निर्माणको काम शुरू गरिएको अस्पतालको भौतिक संरचना निर्माण वैशाख ३१ गते नै पूरा भएको थियो । नेपालमै भएको निर्माण सामग्री प्रयोग गरेर ‘प्रि–फ्याब हाउस’ तयार पारिएको छ ।