नेकपा विभाजनपछिको असर सुदूरपश्चिम सरकारमा पनि देखिएको छ । सरकार बनाउने र गिराउने सत्ताको खेल पनि सुरु भएको छ । मंगलबार मात्रै प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहोरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरिएपछि पार्टी फुट र नेकपाको गुटको आगोमा अझ ध्यू थपिएको छ । नेकपाका दुई गुटहरु आफुलाई बलियो बनाउने दाउपेचमा लागिरहेका छन् ।
त्यसका लागि दुबै गुटले कुनै कसर बाँकी राखेका छैनन् । साम दाम दण्डदेखि प्रलोभन र धम्कीका प्रयासहरु पनि चलिरहेका छन् । नेकपा विभाजनको फाईदा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दल नेपाली काग्रेंसलाई पार्ने आकंलन गरिएका वेला काग्रेंसका गतिविधिहरुलाई पनि विश्लेषण गर्न थालिएको छ । सुदूरपश्चिम सरकार बनाउन र खसाउन भईरहेका थरि थरिएका खेलमा कस्ले जित्छ त्यो भने हेर्न बाँकी छ ।
भौतिक पुर्वाधार मन्त्रीपछि अर्थमन्त्रीको पद पनि धरापमा
सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहोरालाई मन्त्री पदबाट बर्खास्त गरिएपछि प्रदेशका अर्का मन्त्रीको पद पनि धरापमा परेको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको पद पनि धरापमा परेको हो । केपी ओली गुटका भौतिक पुर्वाधार मन्त्रीलाई हटाईएपछि अर्थमन्त्रीलाई पनि हटाउने दबाब मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिईएको छ ।
मन्त्री बोहराले राजीनामा दिने चर्चा चलिरहेका वेला मुख्यमन्त्री भट्टले उनलाई लाईन क्लियर गर्न निर्देशन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बर्खास्त गरिएका मन्त्रीको विषयमा नयाँ मन्त्री नियुक्तीको बारेमा छलफल हुन बाँकी रहेको बताउँदै उनले अर्थमन्त्रीलाई आफ्नो लाईन क्लियर गर्न भनिएको बताए । अर्थमन्त्री बोहोराको जवाफ आएपछि उनलाई के गर्ने भन्ने निर्णय हुने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।
यता राजीनामा दिने हल्ला चलेका वेला आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले भने अहिले नै राजीनामा दिने पक्षमा नरहेको बताएका छन् । उनले अवस्था र परिस्थति त्यस्तै आएमा राजीनामा दिने वा नदिने भन्ने निर्णयमा पुगिने बताए । मुख्यमन्त्रीले लाईन क्लियर गर्नका लागि भने आफुलाई दबाब नदिएको उनको जिकिर छ । वैधानिक रुपमा पार्टी नफुटेकोले अहिलेसम्म आफु पार्टी एकताकै पक्षमा रहेको जिकिर गर्दै उनले भोलीको दिनमा लाईन क्लियर गर्नुपर्ने अवस्था आएमा आफु पनि खुलेर लाईनमा लाग्ने बताए । आफु अझै केही दिन हेर र पर्खको स्थितिमा रहेको बताए ।
अधिकांश प्रदेश सभा सदस्य अन्योलमा
नेकपा विभाजनपछि केही बाहेक सुदूरपश्चिमका अधिकांश प्रदेश सभा सदस्य मौन बसेका छन । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, प्रदेश सभा सदस्य रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट र महेशदत्त जोशी स्पष्ट रुपमा ओली समूहमा देखिएका छन । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा कता लाग्छन् अहिले सम्म प्रष्ट भइसकेको छैन । तर बोहराको भनाई सुन्दा ओली खेमामै रहेको लाग्छ । उनले पार्टी एकताकै लाईनमा आफ्नो मत सञ्चार माध्यममा राखिरहेका छन् ।
सुदूरपश्चिममा ओली पक्ष बलियो बन्दै
केही दिन अघिसम्म सुदूरपश्चिम प्रदेशमा प्रचण्ड नेपाल समूहका सासंदहरु ३५ जना देखिएका थिए भने ओली समूहमा भने ४ जना मात्रै थिए । पछिल्लो समयमा नेताहरुले समीकरण परिवर्तन गर्न लागेसंगै ओली समहूमा १४ जना रहेको दाबी गरीदै आएको छ । अबको दुई तीन दिनमा यो संख्या १८ पुराउने ओली समुहको दावी छ ।
हाल सुदूरपश्चिम प्रदेश सभामा ३९ जना नेकपा, १२ जना काङ्ग्रेस र २ जना राजपाका सासंद रहेका छन् । नेकपा दुई भागमा विभाजन भएसंगै प्रदेशमा ओली समूहमा १४ जना र प्रचण्ड नेपाल समूहमा २५ जना रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सासंद कम भएपनि उनीहरुले सरकार बनाउन काग्रेंस र राजपालाई गुहारिरहेका छन् । काग्रेंसलाई मुख्यमन्त्री सहितको प्रस्ताव ओली समुहले काग्रेंसलाई दिएको छ ।
ओली पक्ष सरकार बनाउन काग्रेंस र राजपा गुहार्दै
नेपाली कागं्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकारका परिवर्तका बारेमा अहिले नै कुनै औपचारिक कुरा नभएको जनाएका छन् । तर उनका अनुसार अनौपचारिक रुपमा पटक पटक सरकारको अफर आएको छ । सहकार्यका लागी ओली पक्षले छलफल र साझेदारको लोभ देखाईरहेको छ । तर यसबारेमा पार्टीभित्र छलफल भईनसकेको र के गर्ने भन्ने विषयमा पनि निर्णय नभएको डाक्टर रावलले बताए ।
संसदीय दलका नेता रावलले भने आफुहरु सरकारमा जान नहौसिएको बताए । उनका अनुसार ओली समुहले आफुहरुको पक्षमा १४ जना प्रदेश सभा सदस्य रहेको बताउँदै आए पनि आफुहरुले भने १४ जना नै खुलेर आउनुपर्ने र त्यो कुरा लिखित रुपमा ल्याउनुपर्ने सर्त राखेको उनले जानकारी दिए । त्यसपछि मात्रै सरकारमा जाने की नजाने भन्ने कुराको टुंगो लाग्नेछ ।
मुख्यमन्त्रीको आयु सकिएको हो ?
नेकपा विभाजनपछि प्रचण्ड–नेपाल खेमामा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री सुरक्षित रहेको दाबी गरिएका बेला फेर्नुपर्ने माग उठेको छ । प्रतिनिधि सभा विघटनको घोषणाको प्रभावले प्रदेश सरकारमा पनि सत्ता फेरबदलको चर्चा चलिरहदा प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम सरकार नढल्ने दाबी गरिरहेका छन । तर प्रचण्ड–नेपाल खेमाभित्रै मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाउनुपर्ने बहुमत प्रदेश सभा सदस्यले माग उठाएको स्रोत बताउँछ ।
नेकपाका ३९ जना प्रदेशसभा सदस्य मध्ये ३४ जना स्पष्ट रुपमा आफ्नो पक्षमै रहेकाले तत्कालन सरकार परिवर्तन हुने सम्भावना नभएको बताइए पनि भित्र–भित्रै मुखयमन्त्री हटाउनुपर्ने आवाज पेचिलो बन्न थालेको छ । ‘मुख्यमन्त्रीको भूमिकामाथि विगतदेखि नै हामीले प्रश्न उठाउँदै आएका हौँ,’ प्रचण्ड–नेपाल समूहका एक जना प्रदेशसभा सदस्यले भने– ‘उहाँले जनअपेक्षा अनुसार काम गर्न सक्नु भएन । प्रदेश सरकारको नेतृत्वमा अर्को समूह आउने सम्भावना नभए पनि मुख्यमन्त्री सहितका केही मन्त्रीहरु हटाउनुपर्ने माग उठेको छ । बहुमत प्रदेश सभा सदस्यको सोही माग छ ।’
ओली समूहका सुदूरपश्चिम संयोजक लेखराज भट्टकै सिफारिसमा तत्कालीन माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका भट्टले उनको साथ छोडिसकेका छन । अहिले उनी भीम रावलसँगै रहेका छन् ।
प्रचण्ड–नेपाल समूहकै नेता भन्छन् –‘मुख्यमन्त्रीलाई समस्या हुन सक्छ’
प्रचण्ड–नेपाल समूहमै रहेका सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई समस्या हुन सक्ने उनकै समुहका नेताहरुले संकेत गरेका छन् । हालै पुर्नवहाली सहित जिल्ला अध्यक्षको जिम्मेवारी दिईएका प्रदेश सभा सदस्य दिर्घबहादुर सोडारीले मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि व्यवस्थापन गर्न नसके सांसदहरु उनको रिोध गर्न सक्ने चेतावनी दिए ।
सुदूरपश्चिमका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका सोडारीले मन्त्री परिषद् पुर्नगठन गरेर अन्य प्रदेश सभा सदस्यहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिएका छन् ।