डेउडा ‘चम्काउने’ चक्र
2021/01/01, 12:25
 
chakra bam

सुदूर तथा मध्यपश्चिमका विभिन्न भेगमा गाइने गीत ‘देउडा’ चर्चित छ। पछिल्लो समय देउडामा ‘फ्युजन’ शैली मिसाइएपछि यसको दायरा अझ फराकिलो बनेको छ। पहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सीमित देउडा अहिले नयाँ पुस्ताले अन्य क्षेत्रमा पनि लोकिप्रय बनाएका छन्। यस्तै पुराना शैलीका देउडा भाकाहरूलाई नयाँपनसहित ‘फ्युजन’ दिने एक जना गायक हुन्– चक्र बम।  

उनले ‘भन साली’ बोलको देउडा ‘फ्युजन’ गीत बजारमा ल्याएका छन्। गीतमा चक्रलाई गायिका लक्ष्मी आचार्यले साथ दिएकी छन्। गीत गायक चक्रले लेखेका हुन्।  यतिबेला गीतको सर्वाधिक चर्चा भइरहेको छ। टिकटकलगायत सामाजिक सञ्जालमा यो गीत भाइरल भइरहेको छ। विवाह, जात्रा, मेलामा साली–भेनाको ठट्यौली थेगोलाई देउडा ‘फयुजन’ लाई लोक गीत बनाएको चक्र बताउँछन्।  

‘देउडाको आफ्नै सुगन्ध छ। यसको मिठास पनि बेग्लै छ,’ उनी भन्छन्, ‘भन साली’ सुदूरपश्चिमा गरिने साली–भेनाबीचको  एउटा ठट्टा हो। एक जुहारीजस्तो हो। । त्यही ठट्टालाई शब्दमा बुनेको हुँ।’ सुदूरपश्चिममा खस भाषा बोलिन्छ। सुदूरपश्चिमेली भाषा र संस्कृतिमा देउडा भेटिन्छ।  ‘सुदूरपश्चिम मौलिकताको उर्वर थलो हो,’ चक्र भन्छन्, ‘विवाह, व्रतबन्ध, कुनै मेला, पर्वजस्ता शुभकार्यमा जमघट हुँदा देउडा खेल्ने चलन छ। मेला, पर्वहरूमा गाउन हुने शब्द छन् गीतमा।’  

यसअघि चक्रको ‘ओए काजल’ले निकै चर्चा पायो। जसले उनको परिचय नै बनाइदियो। नेपाली गीत/संगीत क्षेत्रमा नयाँ गर्न शैली ल्याउनु थियो, चक्रलाई। तर बीचैमा कोरोना महामारी कारण ‘लकडाउन’ भयो। त्यसबेला घरभित्रै बस्नुपर्ने बाध्यता बन्यो। लकडाउनले चक्रलाई थप सिर्जनशील बनायो।  

‘पुरानै शैलीको गीतभन्दा केही फरक गर्ने चाहना थियो,’ उनी सुनाउँछन्, ‘मेलोडी गीत बनाउने क्रममा ओए काजल जन्मियो। जसलाई दर्शक÷स्रोतले माया गरिदिनुभयो। माया र साथले अर्को गीतका लागि उत्साह थपिदियो।’ चक्रले यसअघि नै ‘नाच मेरी झुमा’ गीत ल्याएका थिए।  जुन गीतले पनि चर्चा पायो। एकपछि अर्को ‘डिजे वाले दाइ’ ‘विद्यानास’, ‘दारु सड्काउने’ जस्ता गीतले चर्चा बटुले। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन।  

त्यसपछि चक्रलाई देश तथा विदेशबाट अफर आउन थाले। स्टेज कार्यक्रमका लागि गत वर्ष उनी कोरिया पनि पुगे। मध्य र सुदूरपश्चिमको गाउँमा मात्रै खुम्चिएको ‘देउडा’ अहिले आम स्रोता–दर्शकको मनमा बसेको छ। त्यसैले उनलाई खुसी र आनन्द मिलेको छ।  सुदूरपश्चिमको डोटी बाल्यकाल बिताएका पश्चिमेली ठिटोको यतिबेला चर्चा चुलिँदै छ। त्यसै गीतरसंगीत क्षेत्रमा लागेका होइनन् उनी, सानैदेखि संगीतमा लगाव थियो। कक्षा ३ मा पढ्दै गर्दा स्कुलका कार्यक्रममा गीत गाएर प्रथम भए। त्यसबेलादेखि गायक बन्ने सपना पलायो उनमा।  

सांगीतिक क्षेत्रमा उनी झन्डै दशकदेखि सक्रिय छन्। छोटो अवधिमा उनले सांगीतिक दुनियाँमा आफ्नो चिनारी दिइसकेका छन्। त्यसैले त आफ्नै परिवेशको मौलिकलाई गीतमा बुन्न व्यस्त छन्। चक्र गीत लेख्छन्, गाउँछन् र नृत्य पनि गर्छन्। गीत गाउने उनको आफ्नै शैली छ। गीतमा उनी खस भाषालाई बढी प्राथमिकता दिन्छन्। यो उनको आफ्नै शैली हो।  

‘गीतमा आफ्नोपन हुनुपर्छ। आफ्नै शब्द र माटोको स्वाद हुनुपर्छ,’ उनी भन्छन्, ‘पश्चिमा मुलुकको पदचाप पछ्याउनुभन्दा आफ्नै भूगोलको गीतलाई पनि मन पराउन थालेका छन्।’  देउडा गीतलाई लोक ‘फ्युजन’ बनाएर पस्किएका छन्। उनको गीतमा सुदूरपश्चिमको मौलिकता झल्किन्छ, माटो भेटिन्छ।  

उनी आफूलाई अझै तिखार्ने धुनमा छन्। त्यसैले उनी गायनमा पनि उतिकै सक्रिय छन्।  ‘गायक बन्ने सानैदेखिको सपना हो,’ चक्र भन्छन्, ‘औपचारिक रूपमा गीत÷संगीतको कक्षा लिएको छैन। सानैदेखि चाडपर्व र मेला/महोत्सवमा गाउँदै आएको छु। अब औपचारिक कक्षा लिन्छु। बल्ल गायक बन्दै छु। खासमा मेरो रुचि र विषय भोकलै हो।’ उनी गीत गाउन, लेख्न मात्रै होइन, नृत्यमा पनि उतिकै निपूण छन्।  

‘तर देउडा एउटा भेगमा मात्रै सीमित थियो। देउडा गायकलाई कसैले पत्याउँदैन भन्थे,’ उनी सम्झिन्छन्, ‘थाहा हुँदाहुँदै पनि हामफालेको हुँ। अहिले गीतलाई माया गरिदिनुभयो। त्यो नै मेरो जीवनको खुसीरआनन्द हो। ढुक्कले सास फेरेको छु।’ कलिलो उमेरमै सिर्जनशीलताका उकाली चढिरहेका चक्रबाट सांगीतिक क्षेत्रले हरपल लाभ पाउने आशा गर्न सकिन्छ।  

नागरिक न्यूजबाट साभार