गाउँमा निःशुल्क अल्ट्रासाउन्ड सेवा सुरु, महिलामा खुशी 
2021/01/01, 9:17
 
altra sound

धनगढी उप–महानगरपालिका वडा नम्बर १८ कि फुलमती चौधरी शुक्रवार गर्भजाँच गर्नका फुलवारी स्वास्थ्य चौकीमा पुगिन् । गर्भजाँचका लागि यस अघि दुई पटक धनगढी पुगेकी चौधरी तेश्रो पटकको गर्भजाँचका लागि गाउँमै अल्ट्रासाउन्ड सेवा पाएपछि खुसी दिईन ।  गर्भजाँचका लागि धनगढी पुगेर निजी स्वास्थ्य संस्थामा चेकजाँच गर्दा खर्चिलो थियो, फुलमतीले भनिन्, ‘अव यो सेवा गाउँकै स्वास्थ्य संस्था त्यो पनि निःशुल्क पाएपछि खुसी नहुने कुरै भएन ।’ सुरुमा गर्भ जाँच गर्दा डाक्टरले बच्चा उल्टो छ भनेपछि पटकपटक गर्भजाँच गराउनु परेको चौधरीले बताईन् ।

कैलाली जिल्लाको कैलारी गाउँपालिका खरेट्टीकी बिर्मा कामीले फुलवारी स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा सुरु हुने जानकारी पाएपछि गर्भजाँच गर्न त्यहाँ पुगेको बताईन । बच्चा कम चल्न थालेपछि चेकजाँच गर्न फुलवारी पुगेको बताउने बिक छिमेकी गाउँमै सेवा पाउनु खुसीको कुरो भएको बताउँछन् । अल्ट्रा साउन्ड गर्दा बच्चाको अवस्था ठिकै पाएको बिकले बताईन । चौधरी र बिक मात्रै हाईन शुक्रवार उद्घाटन भएको दिनमै एक दर्जन भन्दा बढी गर्भवतीहरुले धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएको निःशुल्क अल्ट्रासाउन्ड सेवाबाट गर्भचेकजाँच गराएकी छन् । शुक्रवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले फुलवारी स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड मेसिन उद्घाटन गरेका थिए । 

गर्भवती महिलाले बढीभन्दा बढी सेवा लिन सकुन भनेर गाउँमा रहेको स्वास्थ्य चौकीमा निशुल्क अल्ट्रासाउन्ड सेवा संचालनमा ल्याएका हौं, धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘ यसले गर्भवतीलाई राहत मात्रै नपुगेर शिशु तथा मातृ मृत्यूदरमा कमी ल्याउने छ । धनगढी उप–महानगरपालिका नगरका ३ वटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा स्तरोउन्नती गर्न लागेको पनि नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले गाउँमा त्यो पनि निःशुल्क रुपमा अल्ट्रासाउन्ड सेवा पाउनु गर्भवती महिलाहरुका लागि बरदान सरह भएको बताए । उनले भने, ‘ अव यहाँबाट दिईने सेवाहरुलाई गुणस्तरीय र बिश्वसनिय बनाउन सक्नुपर्छ । उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले अल्ट्रासाउन्ड संचालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएको बताए । उनले भने, ‘यसले दिने सेवा विश्वसनीय हुन्छ ।’