सुदुरपश्चिममा भारतबाट नेपाली फर्किने क्रम तिव्र, परिक्षण भने निकै सुस्त
2020/05/30, 8:40
 
lab

महाकाली अस्पतालको आईसोलेसनमा रहेका ४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि सेती प्रादेशिक प्रयोगशाला धनगढीमा पठाएको ४ दिन भयो । उनीहरुको रिपोर्ट अझै आएको छैन । कोरोना संक्रमणको आशंकामा थप कोही आएमा आइसोलेसनमा राख्न ठाउँ पनि छैन । ‘उनीहरुको रिपोर्ट चाँडो आए थप उपचार प्रक्रिया अघि बढाउन सजिलो हुने थियो,’ महाकाली अस्पतालका डाक्टर सरोज आचार्यले भने, ‘अहिले अन्य उपचार गर्न पनि संक्रमणको जोखिमका कारण गाह्रो भएको छ ।’ उनले लामो समयसम्म रिपोर्ट नआउँदा बेडहरु खाली नभएकाले अन्य शंकास्पद बिरामी राख्न ठाँउको समेत अभाव भएकाले उपचारमा समस्या हुने गरेको उनले बताए ।

महाकाली अस्पतालकै चिकित्सक सहित स्वास्थ्यकर्मीहरुको परीक्षण रिपोर्ट ८ दिनपछि शुक्रबार आएको छ । जेठ ८ मा संकलन गरी पठाएको स्वाबको रिपोर्ट शुक्रबार मात्रै आएको अस्पतालले जनाएको छ । ‘स्वाब संकलन गरेको लामो समयसम्म परीक्षण नहुंँदा रिपोर्ट पनि गलत आउने हुन सक्छ’ डा. आचार्यले भने, ‘धेरै ढिलो हुंँदा भाइरस मर्ने सम्भावना बढी हुन्छ, यद्यपि प्रयोगशालामा कसरी व्यवस्थापन गरिएको छ, त्यसमा भर पर्छ ।’ उनका अनुसार संकलन गरिएको ९६ घण्टाभित्र परीक्षण गर्न सके रिपोर्ट राम्रो आउने बताए । महाकाली अस्पतालले हालसम्म ३८३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाइसकेको छ । जसमध्ये ३१२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ७१ जनाको रिपोर्ट आउन बांँकी छ । ‘आज एकै दिन सय जनाको रिपोर्ट आएको छ’ महाकाली अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले भने, ‘छ सात दिनदेखिको रिपोर्ट आउन अझै बांँकी छ ।’

कञ्चनपुरको महाकाली नगरपालिकाका क्वारेन्टाइनमा अत्यधिक चाप भएपछि नगरपालिकाले भीटीएम खरिद गरेर नमुना संकलनको तयारी गरेको थियो । तर प्रादेशिक प्रयोगशालामा नमुनाको परीक्षण गर्ने चाप बढी भएकै कारण तत्काल स्वाब संकलन नगर्न भनिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीले बताए । यहांँका हरेक विद्यालयहरु क्वारेन्टाइनमा बस्नेले भरिएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा पीसीआर परीक्षणका लागि ५ हजार ५४९ नमुना संकलन भएका छन् । तीमध्ये ५ हजार १६६ को रिपोर्ट आइसकेको छ । जसमा २० जनाको पोजेटिभ र ५ हजार १४६ को नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक प्रयोगशालामा मात्रै संकलन गरिएका ३ हजार २२९ नमुनामध्ये २ हजार ८४६ को रिपोर्ट आएको छ । ३ सय ८३ को रिपोर्ट आउन भने बांँकी रहेको छ । ‘यो साता सुदूरपश्चिम प्रदेश सभाका सांसद, कर्मचारी र सुरक्षाकर्मी सबैको स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकाले केही चाप बढी भएर रिपोर्ट आउन ढिलो भएको हो,’ निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमराज जोशीले भने, ‘अब प्रायेगशालामा पुगेका नमुनाको धमाधम परीक्षण हुनेछ, विगतको भन्दा केही गति पनि बढाइएको छ ।’ यसै सातादेखि प्रदेश सभा सुरु भएका कारण सबैको स्वाब परीक्षण गरिएको हो । धनगढी स्थित प्रादेशिक प्रयोगशालामा दैनिक डेढ दुई सयको हाराहारीमा नमुना परीक्षण हुने गरेको छ । परीक्षणका लागि किटको भने अभाव नरहेको उनले बताए । उनले नमुना संकलन गरिएको २४ घण्टाभित्र प्रयोगशालामा र्पुयाएपछि चिस्यान गृहमा राख्दा कुनै समस्या नहुने बताए ।

केही दिनयता धनगढीमा विद्युत सेवा अनियमित हुँदा समेत परिक्षणमा ढिलाइ भएको निरीक्षक जोशीले बताए । प्रयोगशालामा जनशक्तीको पनि अभाव रहेको छ । सेती अस्पतालका बाहेक थप ५ जना प्राविधिक खटाइए पनि पर्याप्त नभएको जोशीले बताए । सुदूरपश्चिममा २१ हजार ३५६ को परीक्षण गरिएको छ । जसमा ८८ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।