धनगढीमा अब आधा घण्टामै कोरोना परीक्षणको रिर्पोट !
2021/01/07, 5:40
 
corona

धनगढीमा अब आधा घण्टामै कोरोना परीक्षणको रिर्पोट आउन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले एन्टिजेन परीक्षण मार्फत आधा घण्टामै कोरोना परीक्षणको रिर्पोट आउन थालेको हो । आईतबारदेखि एन्टिजेन परीक्षण सुरु भएकोमा अहिलेसम्म २८ जनाको परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका ल्याव टेक्निसियन निरीक्षक दीपक जोशीले जानकारी दिए । 

2

उनका अनुसार २१ जना पुरुष र ७ जना महिलाको पाँच दिनमा परीक्षण गरिएका नमुनाहरुमध्ये ६ जनाको रिर्पोट पोजेटिभ आएको छ । त्यसमा ५ जना पुरुष र एक जना महिला रहेका छन् । हाल हुदैं आएको पिसिआर विधि जस्तै सबैभन्दा विश्वासिलो विधि एन्टिजेन रहेकोले सोही अनुसार परीक्षण धनगढीमा थालिएको हो । 

2

कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने आकलन भइरहेका बेला एन्टिजेन परीक्षण थालिएको हो ।‘नयाँ संक्रमित पत्ता लगाउन र संक्रमणको सम्भावित महामारी नियन्त्रणका लागि एन्टिजेन परीक्षण गरिरहेका छौं ।’ जोशीले भने, ‘संक्रमण पुष्टि भएका व्यक्तिलाई तत्कालै आइसोलेसनमा राखिनेछ ।’ यो विधिबाट परीक्षण गरेको आधा घण्टाभित्र नतिजा आउने भएकोले दुई दिनसम्म तनावमा बस्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।’  एन्टिजेन परीक्षण लक्षण देखिएकाहरुमा मात्रै गरिदैं आईएको छ ।

संक्रमण पुष्टि भएको १० दिनपछि परिक्षण आवश्यक छैनः स्वास्थ्य मन्त्रालय 

पिसिआर परीक्षण गरिसकेकाहरुको पनि यो विधिबाट परिक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । यसैगरी कुनै लक्षण भएका कोरोना संक्रमण भएकाहरुको १० दिन घटेमा त्यसपछि परीक्षण गर्न पनि आवश्यक नरहेको मन्त्रालयले स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेको छ ।

2

कोरोना पोजेटिभ भएकाहरुले १० दिनपछि बिना परीक्षण पनि जनस्वास्थ्यका मापदण्डहरु अपनाएर कामकाजमा फर्किन सक्ने परिपत्र गरेको ल्याब टेक्निसियन निरीक्षक जोशीले जानकारी दिए । गत पुस २० गते सरकारको सचिव स्तरीय बैठकले कोरोना भएको १० दिन नाघेका र कुनै लक्ष्मण नदेखिएकाहरुले त्यसपछि बिना परीक्षण नै कामकाजमा फर्किन पाउने गरी निर्णय गरिएको छ । सोही निर्णयलाई जिल्ला स्वास्थ्य कार्यालय कैलालीलाई परिपत्र गरिएको छ । 

के हो एन्टिजेन ?
एन्टिजेन परीक्षणका लागि नाक, घाँटीबाट स्वाब लिनुपर्छ । स्वाबमा  भाइरसको मात्रा धेरै भए मात्रै संक्रमण देखाउन सक्छ । परीक्षणबाट शरीरमा कोरोना भाइरसको प्रोटिन पत्ता लगाउन सकिन्छ । एन्टिजेन परीक्षणले सक्रिय संक्रमणको अवस्थालाई संकेत गर्दछ ।

1

ल्याव टेक्निसियन निरीक्षक दीपक जोशीका अनुसार एन्टिजेन परीक्षणबाट शरीरमा भाईरस छ÷छैन थाहा पाउन सकिन्छ । यो विधिमा प्रयोगशालाको आवश्यकता नपर्ने उनको भनाइ छ । ‘एन्टिजेन विधिबाट परीक्षण गर्दा सरल र सहज हुन्छ ।’ जोशीले भने– ‘शरीरमा भाईरसको प्रोटिन हेर्न सकिन्छ ।’ 

एन्टिजेन परीक्षण ठीक कि वेठीक ? 
पीसीआरको तुलनामा एन्टिजेन परीक्षण सस्तो पर्छ । ‘फिल्ड’मा गएर ‘मास स्केल’मा परीक्षण गर्न सजिलो हुन्छ । यसबाट समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन सकिन्छ । कोरोना भाइरसको कडा लक्षण भएकालाई तत्काल पहिचान गरी अलग पार्न सकिन्छ । संक्रमितलाई छुट्याउँदा भाइरस सर्ने जोखिम कम हुन्छ । पीसीआर परीक्षणको नतिजा आठ घण्टामा आउँछ । एन्टिजेन परीक्षणको नतिजा १५ देखि ३० मिनेटमा प्राप्त हुन्छ ।