प्रधानमन्त्री ओली धनगढी आउँदै, प्रतिकुल मौसमले उडानमा ढिलाई 
2021/01/08, 9:18
 
hussu

प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी आउदै छन् । धनगढीमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम अनुसार प्रधानमन्त्री ओली धनगढी आउन थालेका हुन् ।  पार्टी विभाजन र संसद विघटनपछि पहिलो पटक उपत्यका बाहिर आउन लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले प्रधानमन्त्रीको सुरक्षाका लागि थप प्रहरी परिचालन भएको बताए ।  ‘संसद विघटनपछि प्रधानमन्त्री पहिलो पटक उपत्यका बाहिर आउदै हुनुहुन्छ । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउँछौ ।’ सुवेदीले भने ।

प्रधानमन्त्री ओली उपस्थित हुने आमसभाको सुरक्षाका लागि एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले सो कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।

यसैबीच प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको उडान प्रभावित भएको छ । आज बिहान ८ बजेर १५ मिनेटमा काठमाडौँबाट हुनुपर्ने श्री एयरलाईन्सको उडान हुन नसक्दा प्रधानमन्त्री ओली धनगढी आउने कार्यक्रम ढिलो भएको छ । बाक्लो हुस्सुका कारण काठमाण्डौं–धनगढी उडान प्रभावित भएको छ ।

धनगढीमा बाक्लो हुस्सु लागेका कारण आज विहानको उडान समय तालिका अनुसार नभएर पछाडी धकेलिएको श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीले जानकारी दिए । आकाश खुलेमा १० बजेसम्म काठमाडौँबाट उडान हुने तालिका बनाईएको भएपनि धनगढीको मौसमा अहिलेसम्म कुनै सुधार आउन सकेको छैन । जस कारण प्रधानमन्त्री ओली आउने उडान अनिश्चित नै रहेको शाहीले बताए ।