सुदूरपश्चिम १ सय ८० रनले पराजित
2021/01/18, 3:19
 
aa

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशसंग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गरेको हो ।  बागमतीले दिएको ३ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै १ सय १९ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए । यस्तै अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए । बागमतीको कसिलो बलिङसामु अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । सुदूरपश्चिमका ६ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।  सुदूरपश्चिमलाई सस्तैमा समेट्न बागमतीका रामनरेश गिरिले ४ विकेट लिए । नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । बागमतीका लागि पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले ६३ रनको योगदान दिए ।

कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र आकाश थापाले १३ रन बनाए । इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे । सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २र२ विकेट लिए । जितसंगै बागमतीले २ खेलमा ४ अंक जोडेको छ ।  बागमती समूह बी को शीर्ष स्थानमा रहेको छ । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो ।सुदूरपश्चिमको भने यो पहिलो खेल हो । पहिलो खेलमै सुदूरपश्चिमले हार व्यहोरेको छ ।