संक्रमित बढ्दै गएपनि धनगढीको कोरोना वार्ड सञ्चालनमा आउन ढिलाई 
2020/06/02, 7:32
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमितको संख्या बृद्धि हुँदै गए पनि धनगढीमा निर्माण गरिएको कोरोना वार्ड सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न गरेर सेतीलाई हस्तान्तरण गर्दा पनि कोरोना वार्ड सञ्चालनमा ल्याउन ढिलाई गरिएको हो । 

प्रदेश सरकारको बजेटमा धनगढीमा निर्माण गरिएको कोरोना अस्पतालमा सञ्चालनमा ढिलाई हुँदा संक्रमितको उपचारमा समस्या हुन थालेको छ । गत जेठ ११ गते हस्तान्तरण गरिएको अस्पताल गत आईतबारदेखि सञ्चालनमा आउने सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले खबरकुञ्जलाई बताएका थिए तर आजसम्म पनि कोरोना वार्ड सञ्चालनमा आउन सकेको छैन् । 

स्वास्थ्य कार्यालय कैलालीले सेती प्रादेशिक अस्पताललाई प्रि–फ्याव सहितको आइसोलेसन भवन हस्तान्तरण गरेपनि आवश्यक उपकरण जडान गर्नै बाँकी रहेकाले ढिलाई भएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर पाण्डेयले बताए । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदले गत चैत ११ गते कोरोना संक्रमितलाई राख्न ५०, ५० शैयाका दुई कोरानो वार्ड निर्माण गर्ने निर्णय गरेको थियो । सोही अनुसार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई एक, एक करोड बजेट दिएको थियो । धनगढीको वार्ड भवन हस्तान्तरण गरिएपनि महाकालीमा भने निर्माण समेत पूर्ण भएको छैन्। प्रि–फ्याव प्रविधिको भवन निर्माण पूर्ण गर्न अझै एक साता लाग्ने महाकाली अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठले बताए । 

प्रदेशमा कोरोना संक्रमितको संख्या दैनिक बृद्धि हुँदै गएपनि प्रदेशमा नयाँ कोरोना वार्ड सञ्चाल नभएपछि व्यवस्थापनमा समस्या हुने देखिएको छ । गम्भीर अवस्थाका कोरोनाका विरामीको उपचारका लागि अन्य अस्पतालहरुमा समेत आईसियु भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण व्यवस्थापन गर्नुपर्ने बेला त्यो पनि हुन सकेको छैन ।