मन्त्रि परिषद्को निर्णय विपरीत सामुदायिक वन : रोकिएन काठ कटानी  (भिडियो सहित)
2020/06/03, 8:33
 
ban fadani

नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १५ गतेको बैठकले रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ त्यही अवस्थामा राख्न सबै वन कार्यालयलाई परिपत्र गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयललाई अटेर गर्दै काठ ठेकेदार, सामुदायिक वन र वन कर्मचारीको मिलेमतोमा कैलालीका केही सामुदायिक वनले धमाधम काठ कटानी गरिरहेका छन् ।

जेठ १५ गतेका दिनदेखि कटानी, ढुवानीका सम्पूर्ण कार्य बन्द गरिएको पत्र यहाँका डिभिजन, सबडिभिजन वन कार्यालय र सामुदायिक वन कार्यालयमा गइसक्दा पनि केही वन माफियाको इशारामा वैज्ञानिक वनका नाममा सामुदायिक वनमा रुख काटिरहेका छन् । बुधबार मात्रै कैलालीको गोदावरी नगरपालिका–४, सिद्ध भगवती बेलपानी सामुदायिक बनमा अवैध रुपमा १७ वटा सालका रुख काटिएका छन् । बुधबार बिहानै आरासहित जंगल छिरेका काठ तस्करहरुले धमाधम रुख कटान गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए ।

स्रोतका अनुसार, आफूहरुलाई काठ कटानीमा कसैले पनि रोक्न नसक्ने भन्दै ठेकेदार र सामुदायिक वनका पदाधिकारी जंगल छिरेका थिए । उनीहरुले धमाधम रुख काट्न थालेपछि स्थानीयले विरोध जनाएका थिए । स्थानीयको विरोधपछि काठ ठेकेदार र वनका पदाधिकारीपछि हटेको स्रोतले बतायो । तर, रातिको समयमा भने रुख कटान जारी राख्ने गरेका छन् । ‘रातभर जंगलमा आरा चल्छ,’ स्रोतले भन्यो,‘वनका पदाधिकारी, वन कर्मचारी र ठेकेदार मिलेपछि उपभोक्ताको के नै लाग्छ र ?’

सामुदायिक वनका अध्यक्ष गोरखबहादुर रोक्कामगरले आफूलाई रुख कटान रोक्ने बारे कुनै जानकारी नै नभएको बताए । उनले भने,‘वैज्ञानिक वन बनाउने भन्दै डिभिजन वन कार्यालय धनगढीबाट छपान आदेश लिएको र सोही अनुसार रुख कटान कार्य जारी राखेका छौँ ।’ अहिलेसम्म डिभिजन वन कार्यालय धनगढी, सव डिभिजन कार्यालय अत्तरियाले आफूहरुलाई रुख कटानी रोक्न आधिकारीकरुपमा पत्राचार नगरेकाले सुख्खा रुखहरु कटान गरेको बताए पनि भित्रभित्रै आला रुखहरु काटिरहेको स्रोतले बतायो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सव डिभिजन कार्यालय अत्तरियामा बुझेर रोक्न लगाउने बताए । स्रोतका अनुसार डिभिजन वन, सव डिभिजन वनका कर्मचारी, ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलेमततोमा पछिल्ला दिननहरुमा कैलालीमा वैज्ञानिक वनका नाममा कटानी जारी रहेको छ । मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै अमुक शक्तिको आडमा वन माफियासँग मिलेर धमाधम रुखहरु काटिरहेको स्रोत बताउँछ ।