धनगढी ः बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएपछि सो क्षेत्रमा तनाव बढेको हो ।
युवतीको मृत्युपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रर्दशन गरिरहेका छन् । उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुङगा प्रहार गरिएको छ । मृतकको शव पनि ईलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदशन गरेका छन् ।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले तनाव बढेपछि बल प्रयोग गरेको बताए । उनका अनुसार ठक्कर दिने बस र बर्दोगोरिया गाउँपालिका–१ का चालक ३१ वर्षीय पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।