दुई दशकअघि द्वन्द्वकालमा तत्कालीन गाउँ विकास समितिका काम असुरक्षाको कारण देखाउँदै जिल्ला सदरमुकामबाट नै हुने गरेका थिए । जब, नेपालमा शान्तिप्रक्रिया आयो । त्यसपछि मुलुक निर्वाचनमा होमियो । अनि तत्कालीन गाविस सचिवहरु गाउँ फर्किए ।
तर, कैलालीको मोहन्याल गाउँपालिकाको काम अझै पनि सहरकेन्द्रित नै हुने गरेको छ । जनप्रतिनिधि र कर्मचारीबाट कुनै काम गराउनैपर्ने भए सहरमा खोज्दै जानुपर्ने स्थानीयको बाध्यता छ ।
सुरुको एक वर्षका लागि जिल्ला सदरमुकाम धनगढीबाट कार्य सञ्चालन गरेको गाउँपालिकाले अझै पनि कार्यालबाट काम सुरु हुन नसकेको हो । गाउँपालिका अध्यक्ष कहिल्यै कार्यालयमा भेटिँदैनन् । अध्यक्ष मात्र होइन, वडा अध्यक्षहरुलाई सहरतिर खोज्दै जानुपर्ने गरेको स्थानीयको गुनासो छ ।
मोहन्याल गाउँपालिका–२ बस्ने प्रेम भुच्चा मगरले कामका लागि कर्मचारी र जनप्रतिनिधि खोज्दै जानुपर्ने बाध्यता यथावत् रहेको बताए । ‘कार्यालय फलिविसौना राखिएको भए पनि काम भने सुखड, लम्कीबाट हुने गरेको छ’, उनले भने, ‘अदालतको निर्णय अनुसार काम हुने सकेको छैन ।’
गाउँपालिकाको केन्द्रका विषयमा अदालतमा समेत मुद्दा परेको थियो । अदालतले खिमडीमा नै राख्न आदेश दिएको थियो । गाउँपालिकाले भने फलिविसौनामा अस्थायी कार्यालय भन्दै बोर्ड झुण्ड्याएको छ ।’ अस्थायी कार्यालयमा समेत सधैँजसो जनप्रतिनिधि नभेटिने गरेको उनको गुनासो छ ।
‘भनेको समयमा कार्यालयमा जनप्रतिनिधि नभेटिँदा समस्या हुने गरेको उनीहरुको गुनासो छ । जनप्रतिनिधिबाट काम गर्नु परेमा नजिकैको बजारमा जानुपर्ने बाध्यता भएको मोहन्याल–४ का स्थानीय शेरबहादुर बमले बताए । ‘कुनै वेला गाउँ गाउँमा सिंह दरबारको नारा लगाए पनि जनताले सहज महसुस अझै गर्न सकेका छैनन्,’ उनले भने, ‘सानो कामका लागि पनि सहरमा पुग्नुपरेको छ ।’
मोहन्यालका वडाको जनप्रतिनिधिसमेत नभेटिने गरेको स्थानीयको गुनासो छ । वडाबाट कुनै काम गर्नुपरेमा सम्बन्धित वडा अध्यक्षलाई फोन गर्नुपर्दछ । कर्मचारीहरु अतिआवश्यक सेवा नेट इन्टरनेट, बैकिङ सुविधा नहुँदा गाउँपालिका कार्यालय जान नमान्ने गरेको जनप्रतिनिधिको गुनासो छ । ‘विकासका पूर्वाधार नहुँदा कार्यालय गाउँपालिकाको केन्द्रमा लिन सकेका छैनौँ,’ मोहन्यालका अध्यक्ष नवलसिंह रावलले भने, ‘खिमडीमा लिन नसकेपछि फलिविसौनामा अस्थायी कार्यालय भनेर सञ्चालनमा ल्याएका छौँ ।’
फलिविसौनामा अस्थायी कार्यालय स्थापना गरी सेवा दिइरहेको दाबी गरे पनि गाउँपालिकाले केन्द्र सार्ने विषयमा विवाद हुँदा अहिलेसम्म कहाँ राख्ने भन्ने विषयमा अन्योल कायमै छ । गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण मिश्रले कार्यालयबाट नै काम काज भइरहेको दाबी गरे ।
‘गाउँ परिषद्ले गरेको निर्णयले फलिविसौनामा कार्यालय सञ्चालन गर्ने भनिएको छ । अन्य ठाउँबाट के कसरी काम भइरहेको छ, त्यो मलाई थाह छैन ।’ हल्ला भए जस्तो अन्य ठाउँमा काम सञ्चालन नभइरहेको उनले दावी गरे । ‘पहिले के भयो मलाई थाह छैन । म आएपछि गाउँसभाले गरेको निर्णयअनुरुप फलिविसौनामा अस्थायी कार्यालयबाट काम भइरहेको छ ।’ दुर्गम हुँदा नेट–इन्टरनेटका लागि भने कहिलेकाहीँ समस्या हुने गरेको बताए ।
कैलाली प्रदेशकै सबैभन्दा विकसित जिल्ला मानिन्छ । कैलालीमा १३ स्थानीय तहमध्ये २ पहाडमा पर्दछन् । भौगोलिक विकटताले गर्दा गाउँपालिकामा कार्यालय तोकिएको ठाउँमा लिन नसकेको जनप्रतिनिधिको दाबी छ । कैलालीको अति विकट मानिने मोहन्याल गाउँपालिकामा निर्वाचनका वेला पनि जिल्लाका सिडिओ र निर्वाचनको टोली हेलिकोप्टरमार्फत पुगेका थिए । दुर्गम हुँदा यस क्षेत्रमा कर्मचारीसमेत जान मान्दैनन् । अहिले भने यातायातको सुविधा पुगिसकेको छ ।
साविकका मोहन्याल, पण्डाैन र सुगरखाल गाविसहरु मिलेर गाउँपालिका बनेको हो । यहाँ ७ हजारभन्दा बढी मतदाता छन् ।