धनगढीमा सबैभन्दा बढी वायु प्रदुषण, अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञको सुझाव
2021/04/06, 11:29
 
corona

केही दिन यता नेपालमा देखिएको वायु प्रदुषण फेरि मुलुकभरि ह्वात्तै बढेको छ । सोमबार बिहान भने मुलुकमै सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा मापन भएको वातावरण विभागले जानकारी दिएको छ । धनगढीमा विहान एयर क्वालिटी इन्डेक्स ‘एक्युआई’ ४२९ पुगेको थियो । 

धनगढी देशकै सबै भन्दा धेरै वायु प्रदुषित शहर बनेको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स ‘एक्युआई’ मा मापन गरिन्छ । एक्युआई ५० सम्म हुनु राम्रो हो ।  ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्युआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्युआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो ।

तीन सयभन्दामाथि जानू घातक मानिएको छ । धनगढीमा वायु प्रदुषणको अवस्था घातक छ । सोमबार धनगढीसहित कैलालीको विभिन्न स्थानमा वायु प्रदुषण बढेपछि स्थानीयले स्वास्थ्य समस्यासमेत महसुस गरेका थिए । तुवाँलो लागेको बेला आँखासमेत पोल्ने समस्या महसुस गरेको भजनी नगरपालिका–४ खैलाडका बाँधुराम चौधरीले बताए । ‘यस्तो समस्या भजनी र सो आसपासका क्षेत्रभरिमै भएको थियो’, उनले भने । 

विभिन्न कारणले धनगढीमा पनि पछिल्लो समय वायु प्रदुषण भइरहेको छ । चिकित्सकले यति बेला बिना काममा घरभन्दा बाहिर ननिस्किन आग्रह गरेका छन् । धुवा, धुलो वायुमा मिसिएर वायु प्रदुषण बढ्दै गएको छ । प्रदुषित वायुले मान्छेलाई धेरै नै नोक्सान गर्ने गरेको वरिष्ठ फिजिशियन डा. शुभेषराज कायस्थ बताउँछन् । उनले वायु प्रदुषण बढेको बेला अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरे । 

‘यस्तो बेला अनावश्यक रुपमा घरबाहिर ननिस्किनु नै उत्तम हुन्छ’, उनले भने । ‘यदि, बाहिर जानै पर्ने अनिवार्य छ भने मास्क लगाउने, सुरक्षाका उपाय अपनाउने गर्नु पर्दछ ।’ प्रदुषित वायुले वृद्धवृद्धा, शिशु, स्वासप्रस्वासका रोगीलाई बढी समस्या गर्ने भएकाले उनीहरुलाई जोगाउनका लागि झनै सजग रहन आवश्यक रहेको डा. कायस्थले बताए । ‘सकेसम्म बाहिर कुनै पनि एक्टिभिटी गर्नु हुन्न’, उनले भने । 

देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परे एन–९५ मास्क प्रयोग गर्नसमेत अनुरोध गरे ।  

उनले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गरे । वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ । 

वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर धिमालले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारी साधन नचलाउन र सवारी साधन वा पेसा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गरे । यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।

वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत आग्रह गरिएको छ । गर्मी बढेसँगै डढेलोका कारण सोमवार बिहानैदेखि देशभरिको वायु प्रदूषण बढेको छ ।

यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारण सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।