आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी जिल्ला स्तरिय अर्धवार्षिक समिक्षा
2021/04/03, 7:49
 
health

स्थानीय जनप्रतिनीधिहरुको सहभागीतामा आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी जिल्लास्तरिय अर्धवार्षिक समिक्षा कैलालीको गोदावरीमा शनिबार भएको छ।

सेती आयुर्वेद औषधालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले गरेका थिए। सो अवसरमा बोल्दै प्रमुख साउदले विगतमा स्वास्थ्य संस्था नहुँदा दुर्गमका मानिसहरु आयुर्वेदिक उपचारको विश्वास गरिरहेको बताए।

उनले भने –‘अहिले पनि आयुर्वेदको प्रभावकारिता राम्रो छ तर, मानिसहरुले विश्वास गर्न छाडेका छन। यसको प्रभावकारीता बढाउनतर्फ सबैले गम्भीर हुनुपर्छ।’

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल, सामाजिक विकास मन्त्रालयका आयुर्वेद महाशाखा प्रमुख डाक्टर चेतराज जोशी, गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट लगायतले आयुर्वेद सेवाको प्रभावकारीता राम्रो भएको र आममानिसलाई सेवातर्फ आकर्षण गराउनतर्फ सबैको भुमिका आवश्यक रहेको बताएका थिए।

आयुर्वेद स्वास्थ्य संस्थाको चालु आर्थिक वर्षको प्रगति प्रस्तुत गर्दै सेती आयुर्वेद औषधालयका प्रमुख डाक्टर खगेन्द्र बमले ६ महिनामा २४ हजार नौ सय २९ सेवाग्राहीहरुले सेवा लिएको जानकारी दिए। उनले स्वास्थ्य संस्थाहरुले वहिरंग सेवा, पंचकर्म, ज्येष्ठ नागरिक रसायन औषधिक वितरण, स्तनपायी आमाको लागि दुग्धवर्धक औषधी वितरण, स्वास्थ्य जिवन कार्यक्रम लगायतका सेवालाई निरन्तरता दिइरहेको बताए।

उनले सुदूरपश्चिममा प्रादेशिक आयुर्वेद चिकित्सालय संचालनका लागि मन्त्रिपरिषदबाट स्वीकृत भएको र भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा रहनु कार्यालयको सवल पक्ष रहेको बताए।

उनले विशेषज्ञ जनशक्तिको अभाव, प्रचार–प्रसारको कमी, उमेरानुसार औषधि आपूर्ति नहुनु, अनुगमनको खाचो, तथ्यांक व्यवस्थापन लगायतका कारण कार्यक्रम सञ्चालनमा समस्या रहेको बताए।