कडा खालको सुख्खा खडेरीले वनमा भएको आगलागी मानिसको नियन्त्रण भन्दा बाहिर रहेको वन संरक्षण कर्मीहरुले बताएका छन् । आगलागीबाट ३ फिटका पुनःउत्पादन भएका बिरुवा जलेर नष्ट भएका छन् ।
कैलालीको ९० प्रतिशत राष्ट्रिय वन तथा सामुदायिक वनको ५० प्रतिशत वन क्षेत्र जलेर नष्ट भएको अनुमान गरिएको छ । डढेलोले चुरे क्षेत्रको प्रायःजसो वनजंगल जलेको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।
जिल्लामा के कति मात्रमा वन क्षेत्र आगलागीबाट नोक्सान भयो भन्ने बारे जानकारी लिने क्रममा रहेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए । उनका अनुसार चुरे क्षेत्रमा बाख्रा पालन गर्नेहरुले नयाँ घाँस पलाउन र शिकारी समूह तथा प्रतिशोधको कारणले आगो लगाउने गरेको बसन्ता वन क्षेत्रमा महुवाको फुल संकलन गर्न सजिलो हुने सोचाइले स्थानीयले जानाजान आगो लगाउने गरेको पाईएको बताएका छन् ।
आगो लगाउनुको कारण थाहा भएपनि संलग्न दोषी बारे सुचना पाउन नसकेको कडेलको भनाई छ। वन कार्यालयले अग्नि नियन्त्रणका सबै उपायहरु अपनाई रहेको र वनमा लागेको आगो नियन्त्रणमा ठुलो जनशक्ति खटिरहेको जनाएको छ ।
अघिल्लो बर्ष माघ देखि जेठ सम्म फाट्टफुट्ट पानी परेको थियो र डढेलो कम लागेकोमा यस बर्ष पानी नपर्दा कडा खडेरीले वन डढेलो नियन्त्रणमा आउन नसकेको सामुदायिक वन समन्वय समिति गौरीगंगाका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए ।
४२ वटा सामुदायिक वन आबद्ध रहेको बसन्ता वन क्षेत्र सामुदायिक वन समन्वय समिति कैलारी गाउँपालिकाका अध्यक्ष रामबहादुर चौधरीले महत्त्वपूर्ण बसन्ता अन्तरास्ट्रिय जैविक मार्ग क्षेत्रमा पर्ने राष्ट्रिय वन तथा सामुदायिक वनको धेरै भाग जलि सकेको जानकारी दिए ।
विगत केही बर्ष यता वनजंगलमा आगलागीले जमिनमा सुख्खापनको बढदै गएको र चुरे क्षेत्र खहरे खोला बन्दै जादा नदिजन्य पदार्थको अनियन्त्रित उत्खननले सिमसार तथा पानीका मुल सुक्दै जानुले डढेलो नियन्त्रण भन्दा बाहिर रहेको वन कर्मीहरुको भनाई छ ।
चुरे क्षेत्रमा भुक्षय र पहिरोले पानीका मुल सुकेका छन् अनियमित बर्षाले खहरे खोल्सा खोला बढ्दै जादा चुरेको माटोमा सुख्खापन बढदा भिरालो जमिनमा डढेलो नियन्त्रण गर्न नसकिएको चुरे आउन नसकेको बासघारि सामुदायिक वनका अध्यक्ष मोहन बिकले बताए ।