क्वारेन्टाईनमा बसेकाहरुको हरि विजोगः खानादेखि ओछ्याउनेसम्म घरकै, गोठभन्दा तल्लोस्तरको वसाई 
2020/06/04, 7:17
 
korona

कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारत तथा नेपालका बिभिन्न स्थानबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किरहेका छन । कैलालीमा पनि भारतबाट भित्रिनेको संख्या ठूलो छ । दिनहुँ जिल्लाका विभिन्न नाका भएर भारतबाट दैनिक हजारौंको संख्यामा सर्वसाधारण भित्रिरहेका छन् । त्यसरी भित्रिने नागरिकलाई स्थानीय पालिकाहरूले निर्माण गरेका क्वारेन्टाईन राख्दै आएका छन् । उनीहरूलाई क्वारेन्टाईनमा राखिएको भएपनि उचित व्यवस्थापन भने गर्न सकिएको छैन ।

दैनिक ठूलो संख्यामा भारतबाट आउने क्रम नरोकिएपछि स्थानीय पालिकाहरूका लागि व्यवस्थापनको पाटो चुनौतीपूर्ण बन्दै गएको छ । कैलालीको जोशीपुर गाउँपालिकामा हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ७ सय ३६ पुगेको छ । पालिकाले निर्माण गरेका २१ वटा क्वारेन्टाइनमा पुरुष ५ सय ७१ जना र महिला १ सय ६५ जना रहेका छन । उनीहरूलाई ७ वटा वडामा रहेका विभिन्न विद्यालयका क्वारेन्टाइनमा राखिएको छ ।

भारत तथा नेपालका विभिन्न जिल्लाबाट घर फर्किएका उनीहरूलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राखिएको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि जेष्ठ १४ गते बसेको कार्यपालिकाको बैठकले वडा रहेका विद्यालयलाई क्वारेन्टाइन निर्णय गरेको थियो । तर, भारतबाट ठूलो संख्यामा नेपालीहरू आउँदा गाउँपालिकाले व्यवस्थापन गर्न सकेको छैन । आवश्यकता अनुसार क्वारेन्टाइन सञ्चालन तथा त्यसको खर्च पालिकाले नै व्यहोर्ने निर्णय गरिएको भएपनि त्यो लागु हुन सकेको छैन ।

जसले गर्दा क्वारेन्टाइनमा रहेका नागरिकहरूले खानादेखि विस्तारासम्म घरको प्रयोग गर्ने गरेका छन । जसले गर्दा गाउँपालिकामा कोरोनाको उच्च जोखिम रहेको स्थानीयको गुनासो छ । जोशीपुर गाउँपालिका १ महोन्याल माध्यामिक विद्यालयमा ७६ जना आश्रय लिइरहेका छन । क्वारेन्टाईनमा खानेपानी, खानाको साथै सुत्नको राम्रो व्यवस्थापन नहुँदा आफूहरू समस्यामा परेको सोही विद्यालयको क्वारेन्टाइनमा आश्रय लिइरहेका तुल्सी देबी बिकले बताइन । सामाजिक दूरी कायम गर्दै क्वारेन्टाईनना बस्नु पर्ने भएपनि बाध्यताले एउटै कोठामा ५ देखि ८ जना बस्नु परेको उनको गुनासो छ। ’सुत्ने कोठामा झुल पनि छैन, घरबाट खाना, झुल, सुत्ने विस्ताराहरू ल्याएर बस्नु परेको छ’, उनले भनिन ।

पालिकाले सेनेटाइजर दिए पनि मास्क, पन्जाहरू आफै भारतबाट स्वदेश फर्किदा किनेको उनले बताइन । ’न त सरसफाइ छ, नत राम्रोसँग चेक जाँच भइरहेको छ, हामीलाई त झन रोग लाग्ने पो डर छ’, क्वारेन्टाइनमै रहेका मेख बिकले भने । आफूहरूकोप्रति जनप्रतिनिधिहरू बेखवर जस्तै बनेको विकले गुनासो गरे । वडा नम्बर ६ मा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा ६४ जनालाई राखिएको छ । क्वारेन्टाइनमा बस्न आफूलाई निकै समस्या हुने गरेको सोही विद्यालयको क्वारेन्टाइनमा बसेका हेमन्त जोशीले बताए ।

क्वारेन्टाइनमा झुल, विस्तारा, खानाको राम्रो व्यवस्था, चेकजाँच र राम्रो सरसफाई हुने पर्ने हो तर त्यस्तो नभएको उनले बताए । घरबाट खाना, सुन्ने बिस्तारा ल्याएर दिन कटाइरहेको उनको भनाई छ । एउटै कोठामा ५ देखी १० जनासम्म बस्नु परेको र कुनै सामाजिक दूरी पनि कायम नभएको हेमन्त जोशीले बताए । यसले गर्दा स्वच्छ व्यक्ति पनि झन संक्रमण हुने सम्भावना बढी रहेको उनले बताए । खान समेत घरबाट ल्याउने भएकाले क्वारेन्टाइनमा बस्नु र नबस्नुको कुनै अर्थ नभएको उनको भनाई छ । घरपरिवारले खाना पुर्याउन आउँदा उनीहरूलाई पनि संक्रमण हुने हो की भन्ने चिन्ताले सताएको जोशीले बताए । पर्याप्त समय नहँुदा राम्रोसँग व्यवस्थापन गर्न नपाइएको र अझ धेरै मानिसहरू आउने हुँदा राख्नको लागि उचित संरचना समेत नभएको वडा नम्बर ६ का वडा अध्यक्ष नत्थु प्रसाद चौधरीले बताए । तर, पनि क्वारेन्टाइनमा बसेकाहरूलाई मास्क, सेनेटाइजर र साबनु दिने काम गरिरहेको उनको भनाई छ ।

यता जोशीपुर गाउँपालिकी उपाअध्यक्ष गिता कठरियाले भने क्वारेन्टाइनमा बसेकाहरूलाई खाना खुवाउनका लागि खाना बनाउने मान्छे नै नपाएको प्रतिकृया दिईन । सुरुमा थोरै संख्या हुँदा उनीहरूलाई क्वारेन्टाईनमै खानाको व्यवस्था गरिए पनि अहिले दिन प्रतिदिन संख्या बढ्दै गएपछि उनीहरूलाई घरबाट नै खाना खुवाउने ब्यवस्था गरेको उनले बताइन् । गाउँपालिकाले झुल, ओढ्ने ओछ्याउन दिँदापछि आउने व्यक्तीहरूले उक्त प्रयोग गरेको प्रयोग नगरेको हुँदा गाउँपालिको यस्तो निर्णय गर्नु परेको उपाअध्यक्ष चौधरी बताइन । क्वारेन्टाइनमा बसेकाहरूले आफै झुल, ओढ्ने ओछ्याउने घरबाट ल्याएर बस्दा सुरक्षित हुने उनले बताइन ।

दैनिक जसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन पालिकाले सवारी साधन पठाउने गरेको उनको भनाई छ । उनले सीमा क्षेत्रमा आएका आफ्ना नागरिक ल्याउन र उनिहरूलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न लागिरहेको बताइन् । पालिकाको ७ वटै वडामा वडामा क्वारेन्टाइन व्यवस्थापनका लागि वडाध्यक्षको संयोजकत्वमा अन्य सरोकारवालाहरूलाई समेत खटाइएको र उनीहरूले काम गरिरहेको उपाअध्यक्ष चौधरीको भनाई छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, किटको अभाव भएको र जसोतसो भए पनि आफूहरूले क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेको उनको भनाई छ । 

कैलालीका अधिकाशं पालिकाहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न बनेको मापदण्ड सहित कार्यविधिलाई लत्याएर काम गरीरहेका छन । कार्यविधिमा क्वारेन्टाइनमा बस्ने व्यक्तिका लागि दिनमा दुई पटक खाना र खाजा खुवाउने, भारत लगायत विदेशबाट नेपाल भित्रिएका नेपालीलाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्नुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिले बाहिरका व्यक्तिसँग भेटघाट गर्नैपर्ने जरूरी परे स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा गर्ने, कोही व्यक्ति क्वारेन्टाइनबाट भाग्न कोशिस गरे उसलाई कानुन अनुसार कारबाही गर्ने भनिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा बस्ने व्यक्तिले सूर्तिजन्य, नशालु तथा मादक पदार्थ सेवन गर्न नपाउने, क्वारेन्टाइनको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटिने, संचार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पुर्ण व्यवस्था भएको हुने कार्यविधिमा उल्लेख गरीएको छ । जोशीपुरका क्वारेन्टाइनमा त्यो कार्यान्वयन हुन सकेको छैन ।