८ महिनापछि खुल्यो टीकापुर पार्कः पहिलो दिनमै साढे १२ हजार पर्यटक भित्रिए
एकै दिनमा साढे तीन लाख राजश्व संकलन
2021/04/15, 6:35
 
park

गुलावको बगैँचाका नामले चिनिने टीकापुर पार्क (वृहत उद्यान) नयाँ वर्षको पहिलो दिन भरिभराउ थियो । पार्कमा पिकनिक खान र घुम्न आउनेको भीड लागेको थियो । टीकापुर पार्कमा नयाँ वर्षको पहिलो दिन बुधबार तीन लाख ५० हजार राजस्व सङ्कलन भएको छ । 

अघिल्लो वर्ष कोरोनाका कारण शून्य अवस्थामा रहेको पार्कमा यस वर्ष पहिलो दिन नै तीन लाख ५० हजार राजस्व सङ्कलन भएको हो । विसं २०७६ को पहिलो दिन भने दुई लाख ९३ हजार राजस्व सङ्कलन भएको थियो । विसं २०७७ मा कोरोना महामारीका कराण पार्क बन्द थियो । 

पहिलो दिन १२ हजार पाँच सय नागरिकले पार्क अवलोकन गरेका पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिए । नयाँ वर्ष– २०७८ को अवसरमा टीकापुर पार्क बिहान ६ बजेबाट प्रवेश खुला गरिएको थियो । पछिल्लो समय कैलालीवासीको पिकनिक खाने र छिमेकी जिल्लाका नागरिकको पर्यटकीय ठाउँका रुपमा स्थापित टीकापुर पार्क पर्यटकको रोजाई बन्न थालेको छ । 

पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (¥याफ्टिङ) को आनन्द लिन र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गर्ने गरेको स्थानीयवासी बताउँछन् । 

टीकापुर नगरपालिकाले नयाँ वर्षको अवसरमा पार्कमा आउने पर्यटकको व्यवस्थापनका लागि थप कर्मचारी र स्थानीयवासीलाई परिचालन गरेको छ । १३ जना कर्मचारी कार्यरत टीकापुर पार्कमा नयाँ वर्षको अवसरमा पर्यटक बढ्ने भएकाले पाँच नगर प्रहरी र पाँच स्थानीयवासीलाई परिचालन गरिएको उनले बताए । 

‘‘पर्यटकको बढ्दो भीडभाडको व्यवस्थापनका लागि नुक्लीपुर प्रहरी, इलाका प्रहरी कार्यालय टीकापुर, स्थानीय युवा र पार्कका कर्मचारी समेत खटेका थिए’’, इञ्चार्ज कुँवरले भने, ‘‘पिकनिकस्थलमा पानी, खाना पकाउने ठाउँ व्यवस्थापन र सरसफाइ गरिएको छ। पार्क किनारमा रहेको कर्णाली नदीमा चार वटा ¥याफ्टिङ तैनाथ थिए ।’’ पार्कमा आउने पर्यटकले कर्णाली नदीमा जलयात्रा गरेर नदीपारी रहेको टापुमा गएर रमाउने गर्दछन । 

कैलालीको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर पार्क पहिलो रोजाइँमा पर्ने गर्दछ । पर्यटकको गतिविधि बढेसँगै पार्कको यहाँको आम्दानी समेत वृद्धि हुन थालेको छ । गत वर्ष कोरोना महामारीका कारण बन्द भएको टीकापुर पार्क आठ महिनापछि खुलेको थियो ।

‘‘आठ महिनासम्म बन्द रहेको पार्क खुलेपछि विस्तारै पार्कमा पर्यटक भित्रिन थालेका छन’’, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘यस वर्ष पनि कोरोना महामारी फैलने जोखिम रहेकाले पार्कमा भीडभाड गर्न नहुन आग्रह गरेका छौँ। पार्कभित्र पनि सामाजिक दूरी कायम गरेर घुम्न पार्कको प्रवेशस्थलमै अनुरोध गर्न थालिएको छ ।’’

विसं २०२८ मा स्थापना भएको पार्क अहिले स्थानीयवासीको आयआर्जनसँग जोडिएको छ । पार्क वरिपरि होटल तथा रेष्टुरेण्ट खुलेका छन् । यो ठाउँ केराका ब्राण्डका रुपमा चिनिएको छ । पार्कमा आउनेहरु केराका परिकार अनिवार्य खाने गर्दछन्। पार्कमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम, वाटिकार ऐश्वर्य उद्यान लगायतका संरचना छन् । 

नयाँ वर्षको अवसरमा कैलालीको लम्की चुहास्थित चिसापानी कर्णाली पुलमा समेत पर्यटकको भीड लागेको थियो । पुलमा फोटो खिच्न र चिसापानी घुम्नका लागि सो दिन १५ हजारभन्दा बढी आन्तरिक पर्यटक आएको बताइएको छ । कर्णाली नदीमा चिसापानी हुँदै टीकापुर पार्कसम्म जलयात्रा (¥याफ्टिङ) गर्नेको सङ्ख्यामा समेत वृद्धि हुने गरेको छ । 

कर्णाली पुल अवलोकन गरेर जलयात्राको आनन्द लिँदै टीकापुर पार्कसम्म आउने र त्यहाँ घुमेर फर्कने पर्यटक बढ्दै गएको स्थानीयवासी सुरवीर धामीले बताए । ‘‘साथीभाइ तथा स–परिवार घुम्नेको सङ्ख्या समेत बढेको छ ।’’, उनले भने, ‘‘चाडपर्वमा आफन्तसँग पार्कको टापुमा पुगेर खाजा खाने र नदी किनारमा रमाउने चलन विस्तारै बढ्दै गएको छ ।’’