सुदूरपश्चिममा पाँच दिनका लागि थ्रोट स्वाब संकलन स्थगित, तत्काल थप स्वाब राख्न नसकिने
2020/06/05, 3:36
 
korona

सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम ५ दिनका लागि बन्द गरिएको छ । स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिज नहुँदा ५ दिनका लागि स्वाब संकलनको काम नगर्न सुदूरपश्चित प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।

सुदूरपश्चिममा रहेको एक मात्र प्रयोगशालामा  ११०० स्वाब संकलन गरिएका छन । दैनिक २५० जनाको पीसीआर परीक्षण भइरहेको छ । प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै ५ दिनका संकलनको काम रोक्न भनिएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।

“प्रयोगशालामा ११०० भन्दा बढी स्वाब राख्न सकिने अवस्था छैन । यिनीहरुलाई परीक्षण गराउन ४ दिन लाग्छ । त्यसैले ५ दिनसम्म संकलन गर्ने काम रोक्न भनेका छौं ।“ निर्देशक डा. अवस्थीले भने । डिफ्रिजको क्षमता नहुँदा स्वाब बिग्रिने भन्दै ५ दिनका लागि रोकिएको उनले बताए ।

भारतबाट आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएसँगै स्वाब संकलनको मात्रा पनि बढेको छ । तर परिक्षण गर्ने बढी क्षमता नहुँदा समस्या भइरहेको उनको भनाई छ ।