दलित हुनुको पीडा
2020/06/05, 7:04
 
laghu katha

उ सुदूरपूर्वको बाहुनको छोरो हो। उसका बुवा सरकारी कर्मचारी हुन्। उनको सरुवा सुदुरपश्चिममा भयो। छोरालाई उनले कक्षा एकमा भर्ना गरे। उनको थर नेपाल हो। सुदुरपश्चिममा नेपाल भन्ने थर हुदैनथ्यो। त्यसैले हेडमास्टरले उनको नामको पछाडी नेपाली थर लेखिदिए। नेपाली सुपमा दलितहरुले लेख्दछन्। उसले दलितहरुले जस्तै पीडा भोग्नु पर्‍यो।

उसको बाल चेतनाले उससंग गरिने व्यवहार किन गरिदैछ, बुझेन्। टोलमा उसको परिवार सम्मानित थियो। उ कक्षा एक पढेर अर्को विद्यालयमा भर्ना भयो।त्यहाँ पनि त्यस्तै। उ विद्यालय अनुपस्थित हुन थाल्यो। विद्यालय नगएको दिन उ छुवाछुतको व्यवहारबाट मुक्त हुन्थ्यो। फेरि अर्को विद्यालय भर्ना भयो। त्यहाँ भने थारू समुदायका बालबालिकाहरू भएकोले उसलाई सजिलो भयो। तर उसको बुवाको सरुवा भएकोले त्यो विद्यालय छोड्नु पर्ने भयो।

उसले विद्यालयमा भोग्नु परेको छुवाछुतको पीडा कहिल्यै घरमा पुर्‍याएन्। उसका बुवाले थरका कारणले छोराले पाएको छुवाछुतको पीडा थाहा पाएनन्। किनभने उनी मदिरा प्रेमी थिए। त्यसपटक भने छोराको सर्टिफिकेट लिएर भर्ना गर्न गाउँको विद्यालयमा गए। सर्टिफिकेटमा फरक थर लेखिएको बल्ल थहा पाए। उनले आफै नेपाली काटेर नेपाल लेखीदिए।

तर यस विद्यालयमा उसले दोस्रो पटक पढेको विद्यालयका हेडमास्टर पनि सरुवा भएर आएका रहेछन्। हेडसरले उसको थर नेपाली नै लेखिदिए। हेडसरले उसलाई राम्रो संग चिनेका थिए। अब भने उसले आफ्नो थर नेपाली लेखिदिएको घरमा आएर बुवालाई भन्यो। उसको बुवा विद्यालय गएर हेडसरसंग छोराको थर नेपाल लेख्न आग्रह गरे। एकछिन त उसका बुवा र हेडमास्टरका बिच झगडा नै भयो। पछि हेडमास्टरले कुरा बुझे।

नेपाल र नेपाली थर उस्तै लाग्ने भएकाले तपाईं बाहुन हुनुहुन्छ छोराको थर उपाध्याय वा शर्मा बनाउनुस भन्ने सुझाव दिए। थर उपाध्याय भएपछि उसले कहिल्यै पहिले जस्तै अपमान र विभेदको सिकार हुनुपरेन्। बाहुनको छोराले लगभग तीन बर्ष दलित हुनुको पीडा भोग्यो, केवल थरका कारण।

उ आजभोली लब्ध प्रतिष्ठित विद्वान भैसकेको छ। दलित समुदाय प्रति सहानुभूति राख्दै समानताको वकालत गर्दछ। जिन्दगी भरी दलित भएर बाच्नेहरू कहिले आफू जस्तै मुक्ती पाउलान? उ समाज र आफै भित्र द्वन्द्वरत छ।