धनगढी उपमहानगरपालिकाद्धारा मेयर कल्याणकारी कोष स्थापना
2021/05/13, 6:33
 
dd

कोभिड-१९ जोखिम नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले मेयर कल्याणकारी कोष स्थापना गरेको छ।

विहीवार धनगढी उपमहानगरपालिकामा बसेको नगर प्रमुख तथा नगरस्तरीय कोभिड-१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापनासहित ५ वटा निर्णय गरेको हो।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ति तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन्।

यस्तै बैठकले धनगढी उपमहानगरपालिका भित्र अक्सिजन प्लान्ट जडान गर्ने कार्यका लागि मेयर कल्याणकारी कोषमा जनप्रतिनीधि, स्थायी कर्मचारी, सेवा करार कर्मचारी र दैनिक ज्यालादारी कर्मचारीहरुको खाईपाई आएको स्केलको एक दिन बराबरको सेवा सुविधा तथा पारिश्रमिक कट्टी गरि दाखिला गर्नका लागि धनगढी उपमहानगरपालिका कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

यसैगरी कोभिड-१९ संक्रमणको जोखिम नियन्त्रण,रोकथाम, उपचार र व्यवस्थापन गर्न बढी भन्दा बढी जनताहरुको ल्यावबाट छिटो छरितो सेवा दिन धनगढी उपमहानगरपालिका, सुदुरपश्चिम प्रदेश सरकार र प्रादेशीक अस्पतालसँग संयुक्त रुपमा ल्याव सेवा सुचारु गर्ने प्रक्रिया अगाडी बढाउने, उपमहानगरपालिकाका कर्मचारीहरुलाई कोभिड पोजेटिभ भएका आईसोलेशनका लागि होटल बासको व्यवस्था र पोशिलो खानेकुरा उपलव्ध गराउन होटल व्यवसायीसँग सम्झौता प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ।

यसैगरी अक्सिजन प्लान्ट,सिलिण्डर,अक्सिजन कन्सनटेटर र एन्टिजेन किट आपुर्ति निर्माण तथा सञ्चालन र व्यवस्थापन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्न धनगढी उपमहानगरपालिकाले सरोकारवाला र सहयोगी पक्षहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकमा उपप्रमुख सुशिला मिश्र भट्ट,प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर चन्द, वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडवरी, स्वास्थ्य शाखाका कृष्णबहादुर बोहरा, लक्ष्मीराज उपाध्याय, लेखा अधिकृत मेम्बर सिंह, चेतराज जोशी र सदस्य सचिव लेखनाथ ओझाको उपस्थिति रहेको थियो।

उपमहानगरपालिकाले अक्सिजन प्लान्ट निर्माणका लागि बिहीवार नै यहाँका उद्योग व्यवसायी, व्यापारी, संघ संस्था, दातृ निकायसँग छलफल गरेको छ। सुदुरपश्चिममा भयावह स्थिति सिर्जना भईसकेकाले यसलाई कन्ट्रोल गर्न सकिने अवस्था छैन, मेयर वडले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकार भन्दा पनि अव घरमै बसेर आफै सुरक्षित हुनुभन्दा अरु उपाय केही छैन।’

उनले नेपालगन्ज र चितवनमा १०० थान अक्सिजनका सिलिण्डर पठाएपनि ५० थान मात्र आउने गरेको र पछिल्लो पटक पोखरा विराटनगर र काठमाडौंमा पनि अक्सिजनका लागि गाडी पठाएको बताए। उनले अक्सिजन प्लान्टका लागि धनगढी उपमहानगरपालिकाले १० लाख बजेट समेत छुट्याई सकेको बताए।

धनगढी प्रत्येक धनगढी नगरबासीलाई एन्टिजेन परीक्षणका लागि पहल भईरहेको उनले बताए। उपमहानगरपालिका सेती प्रादेशीक अस्पताललाई ८ लाख बराबरको अक्सिजन सिलिण्डरका लागि सहयोग गरेको छ।