धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न फुटबल संघका प्रदेश अध्यक्ष श्रेष्ठद्धारा ५ लाख सहयोग
2021/05/17, 9:07
 
Dineah

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठले ५ लाख सहयोग गरेका छन् । धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले ५ लाख सहयोग गरेको बताए ।

उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा अध्यक्ष श्रेष्ठले उक्त रकम जम्मा गरेका हुन् । श्रेष्ठ एसटिएस केवल नेटवर्क कञ्चनपुरका संचालनक समेत हुन् । पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा ब्यक्तिगत रुपमा आर्थिक सहयोग उठ्ने क्रम जारी छ ।

धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ । नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।