परीक्षण प्रभावकारी नहुँदा गाँउ गाँउमा संक्रमण बढ्यो
2021/05/23, 10:16
 
dd

सुदूरपश्चिमका पहाडी जिल्लामा अस्पताल र स्वास्थ्यकर्मीले धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्न थालेका छन् । चैत दोस्रो सातातिर भारतमा संक्रमण बढ्न थालेयता रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमेली पनि चैतेदसैं र बिशु पर्व (नयाँ वर्षको पहिलो दिन) मनाउन घर फर्कन थालेका थिए ।

सीमा नाकामा त्यही बेला सतर्कता नअपनाउँदा अहिल भयावह अवस्था आएको स्वास्थ्यकर्मीहरू बताउँछन् । बझाङको जयपृथ्वी–६ नौराका रामबहादुर सिंह चैत २९ गते भारतको तामिलनाडुबाट घर फर्के । तेस्रो दिन वैशाख १ गते गाउँको बिसु मेलामा सहभागी भएर समूहमा देउडा खेले र काँकर (लिंगो) चढाउने काममा सहभागी भए ।

वैशाख ५ गते उनलाई एक्कासि ज्वरो आयो । सामान्य सोचेर मेडिकलबाट औषधि खाए, निको भएन । ७ गते जिल्ला अस्पतालमा परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखियो । त्यतिन्जेल उनको फोक्सोमा गम्भीर खालको संक्रमण भइसकेको थियो ।

जिल्ला अस्पतालले उपचार गर्न नसक्ने भन्दै धनगढी रेफर गर्‍यो । रेफर गरेको आधा घण्टामै ४८ वर्षीय सिंहको बाटैमा ज्यान गयो । उनको मृत्युपछि सम्पर्कमा आएकाको परीक्षण गर्दा सिंहकी श्रीमतीसहित थप १५ जनामा कोरोना पुष्टि भयो ।

संक्रमितमध्ये कतिपयलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था आयो । मृतक सिंहलाई भारतबाट आउँदा सीमामै परीक्षण गरेर पठाएको भए यस्तो अवस्था आउने थिएन । ‘उतैबाट परीक्षण गरेर पठाइदिएको भए उनले पनि समयमै उपचार पाउने थिए,’ वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले भने, ‘उनको पनि घटना हुने थिएन ।

अरूले पनि दुःख पाउने थिएनन् ।’ अहिले बझाङका गाउँगाउँमा कोरोना संक्रमण फैलिसकेको छ । जिल्लाका अति दुर्गम गाउँमा पनि संक्रमित भेटिइरहेका छन् । शुक्रबार मात्रै परीक्षण गरेकामध्ये ५१.४ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्रबार १ सय ७ जनाको परीक्षणमा ५५ जनामा संक्रमण देखिएको छ । बझाङमा कोरोनाबाट अहिलेसम्म १५ जनाले ज्यान गुमाएका छन् । १ हजार १ सय ५० संक्रमितमध्ये १ सय ९७ जना निको भएका छन् । ८ सय ३८ जना आइसोलेसनमा छन् ।

भारतबाट आउनेहरू परीक्षणबिनै समुदायको सम्पर्कमा गएका कारण संक्रमण व्यापक बनेको स्वास्थ्यकर्मीहरूको दाबी छ । ‘भारतबाट आउनेलाई सीमामै परीक्षण गरेर पठाइदिएको भए यो अवस्था आउने थिएन,’ स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले भने, ‘सुरुमै सचेत नहुँदा अवस्था भयावह भएको हो ।’

गत वर्षको संक्रमणमा अछाममा धेरैसंख्या भारतबाट घर फर्केका थिए । तर, गड्डाचौकी र गौरीफन्टा नाकामा सामान्य परीक्षण गरेर जिल्लाको क्वारेन्टाइन र आइसोलेसनमा पठाइन्थ्यो । यो वष सीमामा परीक्षण र पालिकामा क्वारेन्टाइन, आइसोलेसन नहुँदा संक्रमण गाउँगाउँ पुगेको छ ।

स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार जिल्लामा एक महिनायता १ हजार ३ सय ४३ जनामा संक्रमण पाइएको छ । यो अवधिमा १३ जनाको मृत्यु भएको छ । ‘अहिले लक्षण देखिएकाकाको मात्रै परीक्षण गरिएको हो । कन्ट्याक्ट ट्रेसिङ र लक्षण नदेखिएकाको परीक्षण र क्वारेन्टाइन पनि छैन,’ जोशीले भने ।