शव जलाउन सित्तैमा दाउरा
2021/05/23, 10:48
 
dd

आसपासका गाउँमा केही सहयोग चाहिए सबैले उनलाई नै सम्झन्थे । गाउँमा ढुवानीको साधन उनको ट्रक मात्रै थियो । कसैको मृत्यु भए महाकाली घाटसम्म लैजान उनकै खोजी हुन्थ्यो । यो २०५४ तिरको कुरा हो । उनले घाटसम्म शव पुर्‍याएबापत कसैबाट पैसा लिँदैनथे । 

झन्डै अढाई दशकदेखि समाजसेवा गरिरहेका कञ्चनपुरको वेदकोट–७ सुडाका पवनविक्रम सिंह अहिले पनि शव जलाउन दाउरा माग्न आउनेलाई निःशुल्क दिन्छन् । पछिल्लो समय कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु हुनेको संख्या बढेको छ । शव जलाउने दाउराका लागि सिंहको काठ मिलमा आउनेहरू पनि बढेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट ५ किमी पूर्व वेदकोटको सुडामा उनको काठ चिरानीको मिल पूर्व–पश्चिम राजमार्ग छेउमै छ । शव जलाउन दाउरा चाहियो भन्दै लागि आउने जो कोहीबाट पनि उनी पैसा लिँदैनन्, कसैले पैसा दिन खोजे दाउरा नै दिँदैनन् ।

‘सुरुमा ट्रकमा शव बोक्दा तिर्न नसक्नेबाट पैसा लिँदैनथे, अहिले दाउरा निःशुल्क उपलब्ध गराउँछु,’ सिंहले भने, ‘कोरोनाले धेरै मर्न थाले । दाउरा माग्न आउनेको पनि चाप पनि बढेको छ ।’ दैनिक ४/५ शवका लागि दाउरा माग्न आउनेहरू हुन थालेका छन् । दाउराप्रति क्विटल एक हजारमा बिक्री हुन्छ । एउटा शवका लागि ४/५ क्विन्टल दाउरा आवश्यक पर्छ । ‘कोही पैसा नतिरेर नलैजाने पनि हुन्छन्, उनीहरूलाई अर्को मिलबाट लैजानुस् भनेर पठाउँछु,’ सिंहले भने, ‘कतिपय आफन्तका आत्माको शान्तिका लागि भए पनि अलिकति पैसा दिएर जान्छन्, त्यो पैसा पनि म राख्दिनँ ।’ त्यसरी आएको पैसा ब्राह्मण वा अनाथहरूलाई दिने गरेको उनले बताए । ‘महिनामा ५०/६० वटा शव जलाउन दाउराका लागि आउँछन्,’ उनी भन्छन्, ‘तिनीहरूलाई दाउरा दिन म आफैं खटिन्छु ।’

गत साता एकै दिन १० शवका लागि दाउरा लिनेहरू आएको उनले बताए । गत साता जिल्लामा एकै दिन कोरोनाबाट १५ जनाको मृत्यु भएको थियो । ‘दाउरा लिन कोही नआएको दिन निकै खुसी लाग्छ,’ उनले भने, ‘कहिले दुई/तीन दिनसम्म पनि कोही आउँदैनन्, मृत्यु कम भएकोमा आनन्द महसुस गर्छु ।’ ढुवानीको साधनको खर्च तिर्न नसक्नेका लागि उनी आफ्नै साधन पनि पठाउँछन् । २०७२ को भूकम्पमा उनले अर्का व्यवसायी घनानन्द लेखकसंँग मिलेर काठमाडौं दाउरा पठाएका थिए । उनले पशुपति क्षेत्र विकास कोषलाई उक्त दाउरा हस्तान्तरण गरेका थिए । पेसाले निर्माण व्यवसायी सिंहले बुबा यमबहादुरको मिल चलाएका छन् ।