बैतडीको क्वारेन्टिनमा एकको मृत्यु, बाजुराको क्वारेन्टिनमा मृत्यु भएका वृद्धाको शव व्यवस्थापन
2020/06/06, 11:37
 
korona

भारतबाट फर्किएका एक जनाको बैतडीको क्वारेन्टिनमा मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका वडा नम्बर ६ कै भारतबाट शनिवार आएका ३१ बर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । 

साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जानकारी दिएको छ ।  मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाईने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

ज्यान गुमाएका पुरुष  शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आएर क्वारेन्टिनमा बसेका थिए । उनीसंगै बेंगलोरबाट थप १३ जना पनि पाटन पुगेका छन् । उनीहरुलाई पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा राखिएको छ ।

उता बाजुराको खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

गैरे नेतृत्वमा गएको जिल्लाको टोलीले धेरै दिन शव राख्दा गन्हाउने र थप दुर्गन्ध फैलिने भएकाले दमको रोगी भएको भन्ने स्वास्थ्यकर्मीको जानकारीमा भएकाले शवलाई व्यवस्थापन संयन्त्रकै सक्रियतामा व्यवस्थापन गरिएको हो । स्वाब सङ्कलन गरेर धनगढी पठाइएको र त्यसको रिपोर्टपछि अन्यको स्वाब सङ्कलन गर्ने नगर्ने भन्नेबारे निर्णय गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए ।

वृद्धसँगै अन्य सात जना आएका पनि क्वारेन्टिनमा नै बसिरहेका छन । उनीहरुको टोली भारतको हिमाञ्चल प्रदेश हुँदै नेपाल प्रवेश गरेको हो । पिसिआर जाँचपछि आएको रिपोर्टका आधारमा थप प्रक्रिया अगाडि बढाउने सहमति भएको खप्तड छेडेदह– ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । हाल खप्तड छेडेदहमा ६ सय बढी सर्वसाधारण क्वारेन्टिनमा बसेका छन । क्वारेन्टिनमा अधिकांश भारतबाट आएका मात्र बसिरहेका छन ।