महामारीमा व्यापारीको ‘लुट’
2021/05/28, 10:10
 
dd

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि बझाङमा निषेधाज्ञाको फाइदा उठाउँदै व्यापारीहरूले मनपरी मूल्य बढाउन थालेका छन् । बजार अनुगमन गर्ने निकाय मौन भएका कारण अधिकांश दैनिक उपभोग्य सामग्रीको मूल्यमा केही दिनयता दोब्बरभन्दा बढी भएको छ ।

‘निषेधाज्ञा सुरु हुनुभन्दा अघिल्लो दिनसम्म २ हजार १ सय रुपैयाँ कार्टुनपर्ने अण्डाको अहिले ४ हजार २ सय पुर्‍याएका छन्,’ चैनपुरमा होटल व्यवसाय गर्दै आएकी साइपालकी ल्हामु बोहराले भनिन्, ‘अण्डा मात्रै होइन मूल्य नबढेको कुनै सामान नै छैन । कुनै कुनै सामानको त दोब्बर तेब्बरसम्म मूल्य बढाएका छन् । महामारीका बेला पनि कति लुट्न सकेका ?’

महामारीको मौकामा व्यापारीहरूले मनपरी मूल्य असुल्न थालेका कारण न्यून आय भएकालाई गुजारा गर्न समस्या भएको छ । बजार मूल्यमा अचाक्ली वृद्धि भएका कारण आफूहरूले छाक टार्नै गाह्रो भएको सदरमुकाम चैनपुरकी स्थानीय राधा बादीले बताइन् । ‘महिनाअघि किलोको ४० मा पाइने चामल बढेर ५५/६० पुर्‍याएका छन् । दाल तेल, तरकारीको भाउ छोइ नसक्नु भइसक्यो,’ उनले भनिन्, ‘पैसा हुनेले त किनेर खालान् । हामी गरिबले भोकै मर्नु ?’

सदरमुकाम र जिल्लाका अन्य बजारहरूमा चामल, दाल, तेल, मासु, चाउचाउ बिस्कुटजस्ता उपभोग्य सामग्री, लत्ता कपडा बन्दोबस्तीका सामग्री, मदिरा र सुर्तीजन्य सामानको मूल्य एक्कासि बढेको छ । व्यापारीहरूले वैशाखको दोस्रो हप्ताबाट उपभोग्य सामानको मूल्य अस्वाभाविक तरिकाले बढाएका हुन । वैशाखको १५ गतेसम्म बोराको (५० किलोको) १ हजार ८ सय पर्ने मोटा चामलको मूल्य अहिले २ हजार ६ सय ५० सम्म पुगेको छ ।

यस्तै वैशाख १५ गतेसम्म प्रतिकिलो ७ सयका दरले बिक्री भइरहेको खसीको मासुको मूल्य साता दिनमै बढेर १ हजार पुर्‍याइएको छ । तीन सय रुपैयाँ किलोमा बिक्री भइरहेको कुखुराको मासुको मूल्य ५ सय ५० सम्म पुगेको उपभोक्ताहरूले बताएका छन् । यस्तै वैशाख १५ सम्म लिटरको १ सय ८० रुपैयाँ पर्ने तेलको मूल्य बढेर ३ सयसम्म पुगेको छ । बजारमा तरकारी तथा फलफूलको मूल्य पनि अस्वाभाविक रूपमा बढेको उपभोक्ताहरूको गुनासो छ ।

व्यापारीहरूले मनपरी मूल्य असुल गरेर उपभोक्ताहरूलाई ठगी गर्दा पनि यसलाई नियन्त्रण गर्न कसैले ध्यान नदिएको प्रति पनि उपभोक्ताहरू आक्रोशित हुन थालेका छन् । ‘संकटका बेलामा उल्टै उपभोक्तालाई सुविधा दिनुपर्नेमा मौका यही हो भने जसरी लुट मच्चाइरहेका छन्,’ नागरिक अगुवा धर्मजंगबहादुर सिंहले भने, ‘उपभोक्ताहरू खुलेआम लुटिरहँदा पनि नियन्त्रण गर्ने निकायहरू रमिता हेरेर बसेका छन् । संकटका बेला उपभोक्ताको हितमा काम गरेनन् भने राज्य छ भनेर कहिले महसुस गर्ने ? यो त अचाक्ली भयो,’ उनले हरेक सामानको मूल्यमा वृद्धि भएको र पसलैपिच्छे उही सामानको मूल्य पनि फरकफरक लिने गरेको बताए ।

उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले तेल र चामलको मूल्य धनगढीमा नै बढेको भए पनि अरू दैनिक उपभोग्य सामान, मदिरा, सुर्तीजन्य र बन्दोबस्तीको सामानहरूको मूल्य स्थिर रहेको बताए । उनले भने, ‘चामल र खानेतेलको मूल्य धनगढीबाट केही बढेर आएको हो भन्ने जानकारी आएको छ । यसबारेमा हामी बुझ्दै छौं । अरू कुनै पनि सामानको मूल्य बढेको छैन । कसैले बढाएको हो भने सम्बन्धित निकायले कारबाही गरोस् हामी सहयोग गर्छौं ।’

प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारी साधनहरू निर्बाध रूपमा चलिरहेकाले मूल्यवृद्धि गर्न नपाइने बताए । उनले महामारीको मौका छोपेर कालो बजारी गर्नेहरूलाई प्रशासनले निगरानी गरिरहेको बताउँदै तुरुन्तै कारबाही थाल्ने तयारी भइरहेको जनाए ।