सर्वोच्चको फैसलाले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ: देउवा
2021/07/12, 5:39
 
dd

नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले सर्वोच्चको फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको  बताएका छन्।

सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको भन्दै उनले त्यसको स्वागत पनि गरेका छन्। आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’

सभापति देउवालेसंविधान र लोकतन्त्रको रक्षार्थ आ-आफ्नो ठाउँबाट जुट्ने सबैलाई धन्यवाद पनि दिएका छन्। ‘लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनीतिक दलहरू, सबै कानुन व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको उनको भनाइ छ।यसलाई कसैले पनि व्यक्तिगत जित या हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गर्न अपिल पनि गरेका छन्।

सर्वाेच्च अदालतको संवैधानिक इजलासले आज कांग्रेस सभापति देउवालाई मंगलबार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्चले आदेश दिएको हो।