सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा, ट्रफी र खेल तालिका सार्वजनिक 
2021/10/05, 6:58
 
dd

कैलालीको धनगढीमा बुधवारबाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । साथै आजै प्रतियोगिताको ट्रफी र खेल तालिका पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार बुधवार उद्घाटन खेलमा कञ्चनपुर र अछाम आमनेसामने हुने भएका छन् । 

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार  असोज २३ गतेसम्म धनगढीमा आयोजना हुन गइरहेको हो । प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ । 

प्रतियोगिता आयोजन गर्नका लागि झन्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाहरूलाई टिम छनोटका लागि सुरुमा ५० हजार दिइएकोमा जिल्लाहरूले आफ्नो जिल्लाको टिम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाहरूको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले व्यहोर्ने सदस्य सचिव सिंहले बताए । 

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । उनले ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने आयोजकले जनाएको छ ।

यस्तो छ खेल तालिका 

Tie-Sheet