सुदूरपश्चिमलाई च्याम्पियन बनाएकी कविता कुँवरले जितिन् स्कुटरसहित दुई अवार्ड
2023/01/21, 6:43
 
सुदूरपश्चिमलाई च्याम्पियन बनाएकी कविता कुँवरले जितिन् स्कुटरसहित दुई अवार्ड

काठमाडौं - राष्ट्रिय महिला क्रिकेट तथा सुदूरपश्चिम प्रदेशकी तीव्र गतिकी बलर कविता कुँवरले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा स्कुटरसँगै प्रमुख दुई अवार्ड जितेकी छिन् ।

सुदूरपश्चिम प्रदेशलाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएकी कविता कुँवरले स्कुटरसँगै दुई प्रमुख अवार्ड जितेकी हुन् । सुनसरी जिल्ला क्रिकेट संघ र नेपाल खेलकुद महासंघको सहयोगमा उनले स्कुटर पाइकी हुन् । आगमी भविष्य स्टारको रुपमा उनले स्कुटर प्राप्त गरेकी हुन् ।

कवितासँगै, बागमती प्रदेशकी अश्मिना कर्माचार्य, प्रदेश एककी संगिता राई र सुदूरकी विन्दु रावलको नाम स्कुटर छनोट समितिले सिफारिस गरेको थियो । जसबाट कविताले उक्त स्कुटर प्राप्त गरेकी हुन् ।

No description available.

कविता प्रतियोगिता प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी र उत्कृष्ट ब्याटर समेत चुनिन् । सर्वोत्कृष्ट खेलाडी वापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार प्राप्त गर्नेछिन् ।

कविताले ५ खेलमा ४ इनिङमा ब्याटिङ गर्दै दुई अर्धशतकका साथ १ सय ३४ रन बनाउँदै शीर्ष स्थानमा थिइन् । कुल २० चौका र २ छक्का प्रहार गरेकी थिइन् । बलिङतर्फ १६ ओभरमा ४ मेडन राख्दै ६७ रन खर्चेर २ विकेट लिएकी थिइन् । कविताले बागमतीविरुद्ध ५० र सेमिफाइनलमा मधेश प्रदेशविरुद्ध ७० रनको उत्कृष्ट इनिङ समेत खेलेकी थिइन् ।

सुदूरपश्चिमकै मनिष चौधरी प्रतियोगिता उत्कृष्ट बलर चुनिन् । सुदूरलाई पहिलो पटक च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गर्नेक्रममा उनले ५ खेलमा २० ओभर बलिङ गर्दै ७८ रन खर्चेर ११ विकेट लिएकी थिइन् ।

मध्य गतिकी बलर उनले गण्डकीविरुद्ध ४, बागमती, सेमिफाइनलमा मधेश र फाइनलमा प्रदेशएकविरुद्ध २–२ विकेट लिएकी थिइन् । एपिएफविरुद्ध एक विकेट लिएकी थिइन् । उनले २० हजार प्राप्त गर्नेछिन् ।
विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गर्नेछन् । सुदूरले फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको छ ।