दुई सय नेपाली पलिया क्वारेन्टाईनमा ५० दिनदेखि अलपत्र
2020/05/12, 9:59
 
india border

जन्मभूमी प्रवेशका लागि भारतको विभिन्न क्षेत्रबाट कैलालीको सीमासम्म पुगेका नेपालीहरुलाई पलिया क्वारेन्टाइनमा राखेको ५० दिन वितेको छ । सुरुवातको दिनमा एक सय २४ जनालाई मात्रै पलिया क्वारेन्टाइनमा राखिएकोमा अहिले सङख्या बढेर दुई सय बढी पुगेको छ ।


उनीहरुलाई अहिलेसम्म स्थानीय प्रशासनले नेपाल प्रवेश गराउने अनुमति पाएको छैन् । लामो समयसम्म क्वारेन्टाइनमा बस्दा समस्या भएको उनीहरुले बताएका छन । छोराछोरी र श्रीमानसंगै पलिया क्वारेन्टाइनमा रहेकी कैलालीकी संगीता विकले सरकारसंग उद्धारका लािग आग्रह गरिन् । समस्यामा परेकै बेला सरकार चाहिने हो तर अहिले हामी नेपाली समस्यामा पर्दा सरकार कतै देखिएको नदेखिएको दुखेसो पोखिन् । 


कैलालीकै अर्का स्थानीय भुपेन्द्र अधिकारीले पनि प्रदेश र स्थानीय सरकारले उद्धारका लागि कुनै पहल नै नगरेको गुनासो गरे । नेपाल प्रवेशपछि क्वारेन्टाइनमा बस्न तयार रहेको बताउँदै उनले उद्धार गरिदिन माग गरे । यता जिल्ला प्र्रशासन कार्यालय कैलालीले भने नेपाली मजदुरलाई नेपाल प्रवेश गराउने अनुमती संघीय सरकारबाट नपाएको जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले संघीय सरकारबाट निर्देशन आए तत्कालै उद्धार गरिने बताए ।