धनगढी मेयर एलपीएल–६ सुरु
2022/02/14, 12:20
 
dd

धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग एलपीएल–६ सुरु भएको छ । धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले एलपिएल–६ को उद्घाटन गरे । फागुन १४ गतेसम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुने एलपीएल–६ आजदेखि सुरु भएको हो ।

उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्दै छन्  । आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्यकारी निर्देशक रामचन्द्र शाहीले अण्डर–१९ टि–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी १० विद्यालय टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको बताए ।
जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् ।

त्यसैगरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् । काठमाडौ, कंचनपुर र कैलालीका १० विद्यालयको सहभागीता रहने प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछ ।